नयाँ सरकार गठनपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमणको संभावना भएकाले कारण त्यसैबेला द्वीपक्षीय सम्झौता गर्ने तयारी भइरहेको अर्थ स्रोतले जानकारी दियो। चीनको झोङ इ रिचवे होल्डिङ (संघाइ) लिमिटेडले पूर्वाधार निर्माणका साथै गोल्ड क्वाइनदेखि फाइनान्सियल डेरिभेटिभ्ससम्म जारि गर्ने प्रस्ताव पठाएको थियो। नेपालमा पूर्वाधार विकास बैंक खोल्नका लागि कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ। चीनले राष्ट्र बैंकले तोकेभन्दा पाँच गुणा वढि पूँजीसहित नेपाल आउन खोजेको हो।
चीनको प्रस्तावमा अर्थले मागेको रायमा राष्ट्र बैंकले पूँजी सम्बन्धि ब्यवस्थामा भनेको छ- विदेशी संयुक्त लगानीमा खुल्ने पूर्वाधार विकास बैंकको हकमा विदेशी लगानीकर्ताको अधिकतम ८५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको कम्तीमा १५ प्रतिशत रहन सक्ने व्यवस्था छ। यसो हुँदा नेपाल सरकारलाई छुट्टयाइने २० प्रतिशत शेयर भएको अवस्थामा विदेशी लगानीकर्ताको अधिकतम ६५ प्रतिशत मात्र शेयर स्वामित्व कायम हुन सक्ने देखिएकाले यसै अनुसार प्रस्ताव संशोधन गर्न सुझाव दिएको छ।
६५ प्रतिशतभित्र पनि संस्थाका कर्मचारीलाई छुट्टयाइने अधिकतम ०.२ प्रतिशतलाई पनि समावेश गर्नु पर्ने राय राष्ट्र बैंकको छ। राष्ट्र बैंकले नाफा बाँडफाँडका बिषयमा पनि आफ्नो रायमा उल्लेख गरेको छ। भनिएको छ- शेयरधनीहरुबीच नाफाको बाँडफाँट विद्यमान ऐन, नीति, नियम अनुसार हुन्छ। सञ्चालन जोखिमको बाँडफाँट शेयरधनीहरुबीच सोझो रुपमा नभई कम्पनीमा उनीहरुको लगानी रकमबाट बहन हुने हुँदा सम्झौतामा यसलाई पनि उल्लेख गर्न अर्थलाई सुझाव दिइएको छ।
चीनले प्रस्ताव गरे अनुसार सुनको सिक्का जारि गर्न प्रचलित ऐनले अधिकार नदिएकाले यसलाई प्रस्तावबाटै हटाउन र राष्ट्र बैंकले खारेजी सम्बन्धि ब्यवस्था पनि चीनको प्रस्तावमा उल्लेख नभएकाले त्यसलाई उल्लेख गर्न भनेको छ। राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई आवश्यक पर्ने वित्तीय स्रोत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएका ब्यवस्थाहरुबाट मात्रै परिचालन गर्न सक्ने भन्दै वैदेशीक वित्तीय स्रोत संकलनमा त्यस्तो बैंकमा लगानी गर्ने विदेशी साझेदारको प्रत्यक्ष भूमिका नहुने सुझावमा उल्लेख गरेको छ। यस्तो बैंक सहजकर्ताको रुपमा मात्रै कार्य गर्न सक्ने हुँदा यो बारे पनि प्रस्तावमा उल्लेख गर्न सुझाइएको छ।
नेपालको वित्तीय क्षेत्रमा चीनियाँहरुको लगानी छैन। बाणिज्य बैंकहरुमा भारतलगायतका देशहरुको भने लगानी छ। नेपालमा ब्यापार बढ्न थालेपछि चीन बैंक खोल्न सकारात्मक देखिएको बिडमाण्डु डटकमले जनाएको छ।