पूर्वमन्त्री डा महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ

पूर्वमन्त्री डा महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ

काठमाडौँ, २१ साउनः

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिकाे आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उहाँले भन्नुभयो, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरुलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”

उहाँले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधी गरेको थिएँ”, उहाँले भन्नुभयो, “विदेशमा बस्नेहरुले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कडेल तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथी डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वतृत्वकला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ ।

आजको कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचका लागि बैंकहरुसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिनुभएको थियो । साथै ‘डिजिटल बैंकिङको वरदान र आशीर्वादः नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिनुभयो ।

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *