सरकारी पदाधिकारीसँग छलफल गरि सहयोगको सम्भाव्यताबारे थप अध्ययन भइरहेको भ्रमण टोलीका संयोजक डा. वेईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सहरी क्षेत्र मात्र होइन विकट क्षेत्रमा पनि उपचारमा सहयोग गर्ने चाहना छ।’ तोङजी विश्वविद्यालयको कार्डियोलोजी विभाग प्रमुख समेत रहेका डा. वेई सहितको ६ सदस्यीय टोलीले शुक्रबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भ्रमण गर्नेछ।
मुटु उपचारमा चीनले अपनाएका प्रविधि र उपकरणबारे नेपाली मुटुरोग विशेषज्ञहरूसँग छलफल गरिनेछ। संभाव्यता अध्ययनका लागि ४ दिनसम्म चिनियाँ चिकित्सक टोली नेपाल बस्ने अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।
चीनले अघि सारेको वन वेल्ट वन रोड (ओबीओआर) परियोजनाअन्तर्गत नै चीनले मुटु उपचारमा सहयोग गर्न चासो देखाएको हो।
परियोजनाअन्तर्गत एसिया, युरोप र अफ्रिकालाई सडक तथा रेललगायत पूर्वाधारले जोड्ने चीनको लक्ष्य छ। परियोजनाअनुसार नै स्वास्थ्य क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न अहिले सम्भाव्यता अध्ययन गर्न आएको टोलीका सहजकर्ता डा.शैलेन्द्रकुमार कर्णले बताउनुभयो।
चिनियाँ टोलीका सदस्य मुटुरोग विशेषज्ञ डा.चाङ ईले दुई देशका चिकित्सकबीच चिकित्सकीय ज्ञान आदानप्रदान गरिने बताए। ‘जीवनशैलीमा आएको परिवर्तनले मुटुसम्बन्धी बिरामी बढेका छन्। डिभाइसको प्रयोग गरी नेपाली मुटुरोगीको स्वास्थ्यबारे चिनियाँ र नेपाली मुटुरोग विशेषज्ञबीच उपचार र शल्यक्रियासम्बन्धी छलफल गर्न सकिने टोलीमा संलग्न चिनियाँ चिकित्सकले बताए।
२०६५ सालदेखि सरकारले हिमाली र दुर्गम गरी २५ जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन। रोगको प्रकृतिअनुसार पाटन अस्पतालका विशेषज्ञ चिकित्सकबाट परामर्शसहित उपचार गर्ने लक्ष्य राखिए पनि विशेषज्ञ चिकित्सकले बेवास्ता गरेको र जिल्ला अस्पतालमा पनि इन्टरनेट जोड्न नसक्दा सेवा प्रभावकारी हुन सकेको छैन। चिनियाँ मुटुरोग विशेषज्ञहरू भने सुरुमा गंगालाल अस्पतालसँग सहकार्य गर्न इच्छुक देखिएका छन्।