# भरत दाहाल, राजनीतिक विश्लेषक
साम्राज्यवादको पैसा घुसेको दलाल मिडीयामा कहिल्यै विश्वास गर्नुहुँदैन
यूक्रेनमा लाचार अमेरीकाले श्रीलंका, पाकिस्तान र ताईवान गिजोल्दैछ
बढ्दो महंगीको निहुँमा नेपालमा हाहाकार मचाएर चलखेल गर्ने खतरा
यूक्रेन मामिलामा लाचार भएर तमासा हेरिरहेका अमेरीकी र पश्चिमी यूरोपीयन देशहरु अब श्रीलंका, पाकिस्तान र ताईवानलाई गिजोल्न अघी बढेका छन्। श्रीलंका चिनियाँ ऋणको कारणले टाट पल्टिन थालेको झूठ प्रचारलाई जोडतोडले प्रचार गरिंदैछ, जबकि वास्तविकता यसको विपरित छ। तलको चार्टमा देखाईएको १ महिना अगाडी (२०२२ मार्च) सम्मको श्रीलंकाको कूल ऋणमा चिनियाँ ऋण १० प्रतिसत मात्र छ जबकि चिनियाँ ऋणको पाशोको कथा प्रचार गर्ने एशियाली विकास बैंकको १३ प्रतिसत, जापानको १० प्रतिसत, बिश्व बैंकको ९ प्रतिसत गरी ३२ प्रतिसत ऋण साम्राज्यवादीहरुकाे मात्र छ। श्रीलंकाको आन्तरिक ऋण ४७ प्रतिसत छ।
श्रीलंकाले MCC लाई निकालेपछि र त्यहाँको सरकारले जनतामाथिको करमा भारी कटौति, सार्वजनिक लगानीमा बृद्धि र पूर्ण रुपमा अर्गेनिक खेतीको घोषणा गरे देखि नै श्रीलंका पश्चिमाहरुको घेराबन्दीमा पर्न सुरु भैसकेको थियो। बिश्वबैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकहरुले श्रीलंका सरकारलाइ कर बढाउन, कृषिमा रासायनिक मल प्रयोग गर्न र आम जनताको सुविधाकाे नाममा सार्वजनिक लगानीमा बृद्धि नगर्न दबाब दिंदै आएका थिए। अर्थतन्त्रको दिर्घकालिन सुधारको पक्षमा कदम उठाउँदा त्यसबाट तत्काल देखापर्ने असुविधालाई ढाल बनाएर पश्चिमा साम्राज्यवादी वित्तिय निकायहरुले श्रीलंकाको घेराबन्दी गर्न थालेका हुन भन्ने यथार्थतामा कुनै शंका छैन।
पाकिस्तानमा विपक्षिहरुलाई प्रयोग गरेर इमरान खानको सरकार ढाल्न खोज्नुका पछाडी पनि पश्चिमाहरुकै राजनीति छ। चीनसंगको आर्थिक करीडोर, अफगानिस्तानबाट अमेरीका भागेपछि अमेरीकाले पाकिस्तानमा आफ्नो सैन्य क्याम्प राख्न र पाकिस्तानको हवाई आकाश उपयोग गर्न गरेको माग ईमरान खानले अस्वीकार गर्नु र डेढ महिना अगाडी इमरानले पुटीनलाई भेटेर रुससंग आत्मियता देखाएको कारणले आगो बनेका पश्चिमाहरुले पाकिस्तानमा अराजकता फैलाउन खोजेका छन्। अमेरीका यूक्रेनमा भिड्न नसकेपछि ताईवानलाई हतियार बेचेर दक्षिण चीन सागर क्षेत्रलाई यूक्रेन बनाउन खोजिरहेको छ। यीनीहरुले कसैलाई शान्तसंग बस्न दिंदैनन्।
अब अमेरीकाको निशानामा नेपाल पर्ने वाला छ। यहाँको भू-राजनीति ताईवान र यूक्रेन भन्दा बढी संवेदनशिल छ। तिब्बत तिनीहरुका लागी ताईवान भन्दा महत्वको ठाउँ हो। नेपालमा ब्यापार घाटा बढ्ने र दिनदिनै महंगी बढ्ने प्रकृया जुन रुपमा तिब्र बनाईएको छ, यो नेपाललाई आर्थिक रुपमा टाट पल्टाएर आर्थिक पुनर्संरचनाका बहानामा आफूले नियन्त्रण गर्ने अमेरीकी योजना हो। MCC संग गरिएको सम्झौताको धारा १ मा त्यसले नेपालको आर्थिक पुनर्संरचनामा योगदान गर्ने कुरा उल्लेख गरिएको छ। अमेरीकी योजनामा आर्थिक हाहाकार पैदा गरेर नेपाललाई MCC को हातमा सुम्पिने र यहाँ चीन विरुद्ध अराजकता फैलाउने आधार बनाउने दिशामा अमेरीका लागिसकेको छ।