विगत १८ वर्षदेखि सडक महोत्सव निरन्तर हुँदै आएको छ। अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन अन्यत्र जाने भएकाले पर्यटकलाई पोखरा भित्र्याउन १८ वर्षअघि सडक महोत्सवको परिकल्पना गरिएको रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो। नेपालमा मङ्सिरदेखि फागुनसम्म जाडो हुने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या घट्ने र पर्यटकीय चहलपहल शून्य हुने भएकाले सडक महोत्सवमार्फत पर्यटन प्रवद्र्धनको नयाँ सोचका साथ महोत्सव गरिएको थियो।
आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गरी पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको रेवान अध्यक्ष एवं महोत्सब संयोजक चौबहादुर गुरुङले जानकारी दिनुभयो। पोखरा र यस क्षेत्रको वरिपरि ओझेलमा परेका कला, संस्कृति र रहनसहनको प्रचारसँगै विदेशीमाझ नेपाली कला संस्कृति चिनाउने र आदानप्रदान गर्ने उद्देश्यसमेत महोत्सवको उद्देश्य रहेको छ। पाँचदिने महोत्सवमा पाँच लाख पर्यटक आउने रेवानले जनाएको छ। सकडमा करिब पाँच लाख पर्यटक आउने अपेक्षा रहेको गोरखापत्र अनलाइनले लेखेको छ। विभन्न प्रान्तको जातीय सांस्कृतिक कार्यक्रमसहित भारत, चीन, कोरिया लगायत देशका सांस्कृतिक टोलीले प्रस्तुति देखाउने कार्यक्रम छ।