नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको बताउनुभएको छ ।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न बिभिन्न दललाई चेतावनी समेत दिनुभयो । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दावी गर्नुभयो ।
उहाले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गनुृभयो । त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बिभाजन हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताउनुभयो ।
कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाउनुभयो । उहाले ६ महिनाको अवधिमा राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दावी गर्नुभयो ।
त्यस्तै खनालले केपी ओली कै कारण पार्टी एकता जोगाउन नसकिएको बताउनुभयो । कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।