१३ र १४ फागुन अर्थात शुक्रवार र शनिवारको छलफलले एमसीसी संसद्वाट पास हुने सम्भावना बढेको छ। माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्न सहमति जनाएपछि यस्तो सम्भावना बढेको हो। तर, यसको प्रष्ट खाका भने आइतवार बिहान बस्ने सत्ता गठबन्धनको बैठकपछि मात्रै प्रष्ट हुने छ।
शनिवार बेलुका वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको पक्षमा व्याख्यात्मक घोषणा सहित मतदान गर्न सहमति जनाए। यो सहमतिको आधार भने शनिवार बेलुकै बसेको सत्ता गठबन्धनका दोस्रो तहका नेताहरुको बैठकले तयार गरेको थियो।
यसरी भयो सम्भव:
शुक्रवार दिउँसो माओवादी अध्यक्ष ‘संसदमा हराएका’ अर्थमन्त्री जर्नादन शर्मालाई लिएर बालुवाटार पुगेका थिए। एमसीसी संसद्मा पेस गर्दा बिरामी भएको बहाना बनाएर मन्त्री निवासमा बसेका अर्थमन्त्री शर्मा विहीवार पर्वतमा देखिएका थिए। उनी शुक्रवार दिउँसो मात्र पोखरावाट हवाई उडान मार्फत काठमाडौं आए। प्रधानमन्त्री दाहालको अगाडि मुख देखाउन समेत नसक्ने अवस्थामा पुगेका शर्मालाई अध्यक्ष दाहालले बालुवाटार पु¥याए।
प्रधानमन्त्री देउवा अध्यक्ष दाहालसंग मात्र होइन मन्त्री शर्मासंग समेत रिसाएका थिए। उनले दाहाललाई बस्नुहोस समेत भनेनन्। दाहालले उठेरै देउवासंग आफुहरु एमसीसीको पक्षमा रहेको बताए। देउवा भने एमाले अध्यक्ष ओलीसंग निरन्तर सम्वादमा थिए। ओलीको सहयोग पाइन्छ भन्ने सोचमा रहेका देउवाले दाहाललाई हप्काउने शैलीमा भने, ‘तपाइहरुको भर छैन। सहयोग गर्ने हो भने पार्टीको लेटरप्याडमा लेखेर ल्याउनुहोस। भोलि दुई बजेभित्र ल्याउनु भयो भने हेरौला।’
बालुवाटारबाट निस्केपछि अध्यक्ष दाहालले नेता नेपाललाई फोन गरे। नेपालसंग उनले एमसीसी पास गर्ने आधारको विषयमा छलफल गर्न आग्रह गरे। एमालेलाई जसरी भएपनि सरकारमा आउने बाटो बन्द गर्ने विषयमा दाहाल र नेपालको बिचमा यसअघि नै सहमति भैसकेको थियो। एमालेको विरोधमा बोल्ने र आफ्नो अनुकुल वातावरण बनाउने विषयमा पनि उनीहरु एकमत भए।
दुई नेताको सल्लाह अनुसार दाहालले शनिवार भने प्रतिगमनले फेरी टाउको उठाउने खतरा बढ्यो। नेपालले भने ओली फेरी सरकारमा आए भने देश सक्छन। अर्थात ‘प्रतिगमन’ लाई सत्तामा आउन नदिने र देशलाई बचाउन एमसीसी पास गर्नुको विकल्प छैन। घुमाउरो तरिकाले दुई नेताहरुले शनिवार दिन खोजेको सन्देश यहि थियो। उनीहरुको यस्तो घोषणाले एमसीसीको पक्षमा सहमति बन्दै गरेको अड्कल लगाउन सकिन्थ्यो। यो विषयमा प्रधानमन्त्री देउवा पनि जानकार थिए।
शनिवार दिउसो बालुवाटारमा जम्मा भएको नेपाली कांग्रेसका नेताहरु एक आपसमा छलफल गरेपछि वालकोट तिर लागे। वालकोटमा प्रधानमन्त्री देउवा सहित नेताहरु जाने कार्यक्रम थियो। तर, शनिवार विहान वालकोट पुगेका एमसीसीको विपक्षमा रहेका २२ साना दललाई अध्यक्ष ओलीले आफु एमसीसीको पक्षमा नरहेको प्रष्ट पारेका थिए।
शनिवार निर्धारित समयमा देउवा जान नभ्याउने भएपछि कांग्रेसका अरु नेताहरुलाई छलफल गर्दै गर्न वालकोट पठाएका थिए। देउवा नआउने भएपछि ओली पनि उक्त छलफलमा बसेनन्। ओलीले छलफलको लागि वालकोटमा आएका अरु नेताहरुलाई आग्रह गरे। उनीहरुले कांग्रेस नेताहरुसंग उहि कुरा गरे, ‘संसदमा हाम्रो सहभागिता हुने वातावरण बनाईदिनुहोस। त्यसपछि मात्र एमसीसीको विषयमा सल्लाह गरेर अगाडि बढौला।’ एमसीसीको विषयमा कांग्रेससंग भएको वार्तामा एमालेले यहि अडान दोहोराउदै आएको थियो। एमालेवाट केहि पार लाग्दैन भन्ने मात्र होइन अर्कोतर्फ खिचडि पाकिसकेको थाहा पाएका कांग्रेस नेताहरु औपचारिक वार्तापछि बालुवाटार फर्के।
कांग्रेस नेताहरुले तपाई नआउने हो भने ओलीसंग वार्ता नहुने भयो भन्ने खवर गरेपछि देउवा वालकोट जान बालुवाटारबाट निस्किएका थिए। तर, बाटोमै उनले २२ दलसंग ओलीले गरेको संवाद थाहा पाए। यस्तो संवाद थाहा पाएपछि उनी बाटो बाटै फर्के। एमाले नेताहरुसंग वार्तामा रहेका सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाई देउवाले फोन गरे। उनले वार्ता सकेर बालुवाटार फर्कन निर्देशन दिए।
राष्ट्रपति विद्या भण्डारीसंग नजिकको सम्वन्ध रहेका कारण कार्कीले पछिल्लो समयमा ओलीसंग नजिक रहेर एमसीसी देखि सरकारमा साझेदार गर्ने सम्मका विषयमा वार्ता गर्दै आएका थिए। बालकोटबाट निस्कदै गर्दा मन्त्री कार्कीले भने, ‘हामीले उहाँहरूलाई संसद सुचारू गरौं एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदनको दिशामा लगे मात्र मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिऊँ भनेर प्रस्ताव गर्यौं। उहाँहरूले पुरानै कुरा दोहोराउनु भएको छ। हाम्रालागि प्रतिनिधि सभाको द्वार खुलेको छैन। त्यो खुलाउन तपाईंहरूले काम गर्नुस्। तपाईंहरूको दायित्व हो भनेर भन्नुभयो। हामीले पनि तपाईंहरूको पनि दायित्व हो संसद जिवन्त बनाउने। यो दायित्वलाई परिस्थितिको मूल्यांकन गरेर अगाडि बढौं भनेका छौ। र आज पनि छलफल त्यति मै केन्द्रित रह्यो। तपाईंहरूलाई नयाँ खबर भनौंला भन्नेमा थिए त्यो अहिले भन्न सकिन।’
मन्त्री कार्कीलाई वालकोट छाड्दै गर्दा समेत देउवाले पकाएको अर्को खिचडिको विषय थाहा थिएन। त्यसैले उनी अलि बढि निरास थिए। पत्रकारहरुसंग उनले निरास हुदै आफ्ना कुरा राखेका थिए। तर, बालुवाटार आउना साथ उनीहरुले नयाँ समाचार थाहा पाए। आज बेलुका सात बजे बस्ने देउवा, दाहाल र नेपालको बैठक केहि निर्णयमा पुग्छ। यो निर्णयले एमसीसी पासको ढोका खोल्ने छ।
नपत्याएको खोलाले बगाएपछि:
शुक्रवार प्रधानमन्त्री कार्यालयवाट फर्किदै गर्दा अर्थमन्त्री शर्माले गृहमन्त्री वालकृष्ण खाँणलाई फोन गरे। देउवाको तरिका हेर्दा गठबन्धनको औचित्य लगभग सकिएको आँकलन गर्न शर्मालाई समय लागेन। गठबन्धन टुट्नु भनेको आगामी चुनावमा पनि असर पर्नु हो भन्ने विषयमा शर्मा जानकारै थिए। त्यो भन्दा पहिला सभामुख अग्निप्रसाद सापकोटालाई निकाल्ने योजना बन्दै थियो। त्यतिले मात्र नभएर एमालेले वागमति र लुम्विनी प्रदेशको प्रदेश प्रमुखमा समेत दावा गर्न थालेको थियो। समग्रमा कांग्रेस संग एमालेको प्याकेजमा सम्झौता हुदै थियो।
यो सम्झौताले दाहाल र नेपाललाई आगामी निर्वाचनमा समेत असर पर्दथ्यो। माओवादी र समाजवादीले जित्ने ठाउँमा एमाले र कांग्रेसले तालमेल गरे भने प्रत्यक्ष तर्फ एक सिट पनि नआउने सम्भावना उत्तिकै थियो। यि सवै सम्भावनाका बिचमा रहेर दाहाल बिस्तारै गल्दै थिए। उनलाई सहयोग गर्न शर्मा पर्वतवाट हान्निएर काठमाडौं आएका थिए। एमसीसीको कुनै पनि निर्णयमा आफुलाई सहभागि नबनाउने सोचका साथ काठमाडौंवाट जिल्ला भ्रमणमा निस्किएका शर्माले वागलुङमा विहीवार एमसीसी पास हुँदैन भनेर भाषण गरेका थिए। पर्वत आएर जिप लाइनको आनन्द लिएर एमसीसीको लफडा भुल्ने प्रयास गरे।
दाहालले सवै कुरा प्रष्ट राखेर स्थिति नियन्त्रण वाहिर जान थालेको वताएपछि शर्मा काठमाडौं छिरे। देउवाले खासै मतलव नगरेपछि उनले मन्त्री खाँणलाई एमसीसीको विषयमा आफुहरु सकारात्मक भएको बताए। मन्त्री खाँणले यो कुरा तत्कालै प्रधानमन्त्री देउवालाई भने। देउवाले उनीहरुले नाटक गरेका हुन, छाड भनेर कुरा सुन्न चाहेनन। बरु बालकोट पुगेर ओलीसंग सहमतिको प्रयास थाले।
देउवाले आफ्ना कुरामा चासो नदिएपछि मन्त्री खाँणले पार्टी महासचिव गगनकुमार थापालाई फोन गरे। थापाले यसअघि नै माओवादी र समाजवादीलाई मनाउन संकल्प प्रस्तावको विकल्प अगाडि सारेका थिए। ५ फागुनमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेता थापाले एमसीसी अनुमोदनसँगै एमसीसीको पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न सकिने प्रस्ताव गरेका थिए।
‘जे जति प्रश्न उठेका छन्, त्यसलाई प्रष्ट पारौं। यदि भविष्यमा नेपालको हित विपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव पनि पारित गरौं। यसो गर्दा सबैको सरोकार सम्बोधन हुन्छ’, थापाको प्रस्ताव थियो। थापाको प्रस्तावमा माओवादी अध्यक्ष दाहालले असहमति राखेका थिए। उनले भने, ‘गगनजी चीज त्योभन्दा धेरै अगाडि बढिसक्यो। अब संसदमा एमसीसीको पक्षमा मत दिन सक्दैनौं।’ दाहालको यस्तो जवाफपछि देउवाले एमालेसंग संवादको गति वढाएका थिए।
शुक्रवार भने दाहाल गगन थापाको प्रस्तावमै आएका थिए, थापाको संकल्प प्रस्तावको ठाउँमा व्याख्यात्मक घोषणा भन्ने शव्द बोकेर। यो विषयमा शनिबार कांग्रेस महामन्त्री थापा र गृहमन्त्री खाँण, माओवादी नेता एवं अर्थमन्त्री शर्मा र नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका नेता विरोध खतिवडा र रामकुमारी झाक्री, अन्तराष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दी लगायतले थप गृहकार्य गरेका थिए।
उनीहरुले व्याख्यात्मक घोषणामा केके राख्ने भनेर मस्यौदा तयार पारेका छन्। जसमा एमसीसी सम्झौता गर्दा नेपाल कुनै पनि सैन्य गठबन्धनको अंग नहुने, लेखा परीक्षण नेपालको महालेखा परीकक्षकले गर्छ जस्ता विषय उल्लेख छ। ‘भियना कन्भेन्सन’का साथै नेपालको सन्धि ऐनअनुसार तयार पारिएको भनिएको व्याख्यात्मक घोषणालाई आइतवार बिहान बस्ने गठबन्धनको बैठकमा पेश गरिनेछ।
गठबन्धनको बैठकमा सहमति भयो भने त्यो प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गर्ने छ। त्यसपछि संसदमा दर्ता गरिनेछ। एमसीसी सम्झौतासँगै अनुमोदन गरेर सरकारले एमसीसीलाई यसको विषयमा जानकारी गराउने छ। व्याख्यात्मक घोषणाको मस्यौदाबारे दोस्रो तहका नेताहरुले शनिबार साँझ शीर्ष नेताहरुसँग छलफल गरेका थिए। माओवादी अध्यक्ष दाहाल निवास खुमलटारमा भएको छलफलमा नेताहरु व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्न सकारात्मक देखिए। एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले भने उक्त प्रस्तावका विषयमा प्रश्न उठाएका थिए। दुबै नेताले व्याख्यात्मक घोषणाबारे बुझ्न समय चाहिने बताए।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पनि साँझ पार्टी नेताहरुसँग बालुवाटारमा छलफल गरे। यि सवै छलफल पछि बसेको देउवा, दाहाल र नेपालको बैठकले यो विषयमा सहमति जनाएको छ। बैठकवाट बाहिरिदै गर्दा माओवादी अध्यक्ष दाहालले भने, ‘हामी भोलि एउटा निर्णयमा पुग्छौं, गठबन्धन भत्किदैन।’ यद्यपि प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष दाहालको अझै विश्वास भने गर्न सकिरहेका छैनन। दाहालले पनि शनिवार आइतवार विहानसम्म समय मागेका थिए। त्यसैले आइतवार ९ बजे बस्ने गठबन्धनको बैठकले यो विषयमा अन्तिम निर्णय गर्ने छ।
तारोमा एमाले:
माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल एमालेलाई चीनले चलायो भन्ने निश्कर्षमा पुगेका छन्। एमाले एमसीसीको समर्थनमा सजिलै आउँछ भन्ने उनीहरुको अनुमान थियो। यसअघि सरकारको साझा कार्यक्रमको विषयमा प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘तपाईहरुको नीति तथा कार्यक्रममा एमसीसी खै? एमसीसीको विषयमा तपाइहरु के गर्नुहुन्छ, भन्नुपर्दैन।’
माओवादी अध्यक्ष दाहालले १२ फागुनमा एमाले नेता ओलीलाई भेटेका थिए। भेटमा दाहालले ओलीलाई विगतका कुरा विर्सेर मिलेर जाने प्रस्ताव गरेका थिए। ओलीले भने आफ्ना माग पुरा भएमात्र यो विषयमा सोच्न सकिने ठाडो जवाफ दिएका थिए। कांग्रेससंग गठबन्धन टुटेको अवस्थामा एमालेसंग मिलेर जाने सोचका साथ दाहाल ओली भेट्न पुगेका थिए। ओलीले चासो नदिएका कारण यो विषय भने अगाडि वढ्न सकेन।
अर्कोतर्फ सोचे भन्दा कमजोर पार्टी निर्माणका कारण समाजवादीका नेता नेपाल पनि आफ्नै भुमिका माथि सन्तुष्ट छैनन। एकपछि अर्को गर्दै कार्यकर्ताहरु एमालेमा फर्किन थालेपछि नेपाललाई पार्टी जोगाउने चिन्ता पनि थपिएको छ। यस्तो अवस्थामा कहि कतैवाट एमालेसंग फेरी मिल्न सकिन्छ कि भन्ने सोचमा नेपाल पनि पुगिसकेका छन। तर, यो विषयमा नेपाल आफै भन्दा दाहालले ओलीसंग सम्वन्ध सुधार गरेर जाँदा सहज हुने निष्कर्षमा पुगेका छन। ओलीले भने दाहाललाई नेताको जस्तो व्यवहार समेत नगरेका कारण मिलेर जाने विषयको छलफल अगाडि वढ्न नसकेको देखिन्छ।
दाहाल र नेपालको चाहना एमालेलाई एमसीसीमा प्रवेश गराएर एमसीसीको विपक्षमा रहेको युवा जनमत आफ्नो पक्षमा लिने रहेको देखिन्छ। उनीहरुको यो सोच पनि ओलीका कारण व्यवहारमा रुपान्तरण हुन भने सकिरहेको छैन। यस्तो अवस्थामा सरकार छाड्ने विषयले दाहाल र नेपाल दुवैलाई थप चिन्ता थपेको देखिन्छ। सरकारमा सहभागी माओवादी र समाजवादीका नेताहरुले पनि सकेसम्म सरकार छाड्न चाहिरहेका छैनन। समाजवादीको तर्फवाट मन्त्री बनेकाहरु एमसीसीको पक्षमा रहेका छन्।
एमसीसी पास गरेर गठबन्धन अगाडि वढेमा वा गठबन्धन भत्केमा पनि माओवादी र समाजवादीको अबको निशानामा एमाले पर्ने देखिन्छ। दाहाल र नेपालले शनिवार गरेको छुट्टा छुट्टै भाषणले पनि यस कुराको संकेत गरेको छ। दाहाल र नेपालको कुरामा अहिलेसम्म प्रधानमन्त्री देउवाले विश्वास गरेका छैनन। त्यसैले आज, आइतवार विहान दुवै दलले पार्टी निर्णय गरेपछि मात्र गठबन्धनको बैठकमा सहभागी हुनेछन्। माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने उक्त बैठकमा एमसीसीबारे छलफल हुनेछ। एकीकृत समाजवादीले आइतबार ११ बजे सचिवालय बैठक बोलाएको छ।
जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारीणी बैठकमा एमसीसीबारे कुनै छलफल भएन। बैठकले पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भनेर सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ट नेता अशोक राईको आइतबार बिहान छलफल हुँदैछ। त्यही छलफलले कार्यकारीणी बैठकको मिति तोक्ने र एमसीसीबारे निर्णय गर्ने जसपाले जनाएको छ। जसपाका नेता भट्टराई एमसीसीको पक्षमा छन् भने यादव विपक्षमा।
एमसीसीको पक्षमा माओवादी र समाजवादी नआउने अवस्थामा प्रधानमन्त्री देउवा एमालेलाई पनि फकाउने मुडमा छैनन। प्रधानमन्त्री देउवा ओलीको चाहना अनुसार जेठमा संघीय संसदको चुनाव घोषणा गरेर अगाडि बढ्न सक्छन्। यस्तो अवस्थामा देउवा र ओली मिलेर चुनावपछि एमसीसी पास गर्ने विषयमा अमेरिकालाई सहमत गराउन सक्छन। कांग्रेस र एमाले नजिक रहेर चुनावमा प्रतिस्पर्धा गर्ने भएकाले चुनावपछि आउने जनमतको अाँकलन गर्न सकिन्छ। यस्तो अवस्थाको सृजना भयो भने एमसीसी पास हुन आगामी असार महिना कुर्नु पर्ने हुन्छ। एमाले एमसीसीमा सहमत नजनाएको अवस्थामा माओवादी र समाजवादीलाई पार्टी बैठकवाट एमसीसीको पक्षमा निर्णय गर्न सहज भने छैन।