१३.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

ram naam satya
(GMT+08:00) 2017-12-11 16:23:25

        मुस्ताङको थासा गाउँपालिका– १ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। हिउँदयाम सुरुवातसँगै नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा १३.६ मेगावाट विद्युत् थपिएको हो।

माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो। परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदिप खड्काले बताएको राससले जनाएको छ।

म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सव स्टेशनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो। आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ।

उक्त आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो। पाँच वर्षमा आयोजना निर्माण पूरा भएको हो। टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ रहेको छ। फोरवेबाट ७५० मिटर पाइपमार्फत पानीलाई टर्वाइनमा खसालिएको छ।

बेनी–जोमसोम सडकको टुकुचे खण्डभन्दा करिब पाँचसय मिटरभित्र आयोजनाको विद्युत् गृह छ। रु दुई अर्ब ५६ करोडको लागतमा निर्माण भएको आयोजना भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ। आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्काशन गर्ने जनाएको छ।

शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटससँग सम्झौता गरेको छ। थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएकाले म्याग्दीमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *