हेम र शुशिला छायाँछवि काव्य श्रृङखलामा

ram naam satya

चलचित्र  र संगीतको क्षेत्रमा काम गर्दै आएको संस्था छायाछवि क्रिएसनले साहित्यिक कार्यक्रम प्रारम्भ गरेको छ । मुक्तककार रश्मी रोदनको मुक्तकसंग्रह ‘प्रियतम’ को लोकार्पण कार्यक्रमबाट घोषणा गरिएको छायाछवि काव्य शृंखलाको दोस्रो संस्करण आइतबार सम्पन्न गरेको हो ।

यो शृंखलाको दोस्रो सिलसिलामा युवा कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आआफ्ना रचना प्रस्तुत गरे । साहित्यकार र कलाकारको बाक्लो उपस्थितिबीच सम्पन्न कार्यक्रममा हेम र सुशीलाले ओजस्वी कविता एवं गजल सुनाए । कवि हेमले आफ्ना चर्चित एवं नयाँ एक दर्जन कविता सुनाए भने गजलकार सुशीलाले पनि त्यही हाराहारीमा गजल सुनाइन् ।

कार्यक्रममा छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्यमै क्रियाशील रहेको र बीचमा केही समय टुटे पनि अब काव्य शृंखलाका माध्यमले जोडिने बताए । हरेक महिना यसरी नै विभिन्न स्रष्टा समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने उनले बताए । चलचित्र, संगीत एवं साहित्य एकै विधा हुन् भन्दै शान्तिप्रियले आफूहरूले सेतु बनेर संगीतकर्मी, चलचित्रकर्मी एवं साहित्यकारलाई जोड्ने काम गर्ने बताए ।

कार्यक्रममा गजलकार एवं मुक्तककार ज्ञानुवाकर पौडेलले छायाछविको यो प्रयास आफूलाई मन परेको बताए । निर्देशक, लेखक, कलाकार मोहन निरौलाले आफू पनि पहिले साहित्यमै सक्रिय रहेको स्मरण गर्दै आफ्ना कवितासमेत प्रस्तुत गर्न भ्याए । चलचित्रमा लागेर आफ्नो लेखनको शैली चलचित्रतिर मोडिएको बताए ।

छायाछवि काव्य शृंखलाकी संयोजक रश्मी रोदनले कार्यक्रमको स्वरूपबारे प्रष्ट्याएकी थिइन् । रोदनले बीचबीचमा मुक्तक सुनाउँदै आफू छायाछवि काव्य शृंखलामा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा काव्य प्रस्तोता स्रष्टाद्वय हेम र सुशीलालाई सम्मानसमेत गरिएको थियो ।

साभार: अन्नपूर्ण

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *