


नेपालको पश्चिममा पर्ने हुम्ला जिल्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ। थाहा हुन नसकेको रोगका कारण ताँजाकोट गाउँपालिकामा २ बालबालिकासहित ८ जनाको मृत्यु भएको नेपाल अखर अनलाइनले लेखेको छ।स्थानीय मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीका अनुसार अज्ञात रोगका कारण ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनारको मृत्यु भएको हो। यस्तै वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापाको मृत्यु भएको हो।
सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले प्रदेश सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँतर्फ पठाइसकिएको जानकारी दिनुभयो। ‘अज्ञात रोगका कारण दुई बालबालिकासहित ८ जनाको मृत्यु भएको भन्ने खबर आएको छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीको टोली सदरमुकाम सिमकोटबाट हिँडिसकेको छ तर पैदलै जानुपर्ने भएकाले भोलिमात्र पुग्नेछ।’ मृत्युको कारण के हो भन्ने विषयमा टोली पुगेपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो।

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा पर्छ। ‘त्यहाँका स्वास्थ्यकर्मीलाई पनि आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिएका छौं,’ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो।
