

स्वदेशी जुत्ता उद्योगलाई एकै छानामुनि ल्याउन सरकारले फुटवेयर औद्योगिक क्षेत्र बनाउने भएको छ। स्वदेशी जुत्ता उद्योगहरू एकै ठाउँमा स्थापना गरी प्रवद्र्धन गर्न उद्योग मन्त्रालयले यस्तो तयारी थालेको हो । ‘औद्योगिक क्षेत्र सम्बन्धमा व्यापक गृहकार्य भई प्रक्रिया अघि बढेको छ,’ मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भन्नुभयो। सरकारी जग्गा अधिग्रहण गर्ने वा व्यवसायीले जग्गा खरिद गर्ने दुवै विकल्पमा छलफल भइरहेको छ ।
मन्त्रालयका अनुसार फुटवेयर औद्योगिक क्षेत्रका लागि पर्याप्त बजेट छ । अपुग भएको अवस्थामा तत्काल निकासा हुने प्रवक्ता कोइरालाले बताउनुभयो। वाणिज्य मन्त्रालयले जुत्तालाई तुलनात्मक लाभको वस्तुमा समावेश गरेपछि यसको प्रवद्र्धका लागि व्यवसायीले तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीसँग फुटवेयर औद्योगिक क्षेत्र स्थापनाको माग गरेका थिए ।

औद्योगिक क्षेत्रका सन्दर्भमा पूर्वमन्त्री जोशीले सहमति जनाएपछि व्यवसायीहरू उत्साहित भएका हुन् । सहमतिपश्चात् फुटवेयर म्यानुफयाक्चर एसोसिएसन अफ नेपालले जग्गा छनोटका काम तीव्र पारेको जनाएको छ ।

औद्योगिक क्षेत्रमा तालिम केन्द्र, सामूहिक सुविधा केन्द्र स्थापना, कच्चा पदार्थ उत्पादन गर्ने उद्योग, सोल रबर उद्योग पनि स्थापना गरिनेछ । औद्योगिक क्षेत्र स्थापना भए तत्काल १५ हजारभन्दा बढीले रोजगारी पाउने अध्यक्ष श्रेष्ठको दाबी छ । एसोसिएसनसँग ८३ वटा व्यवसायी आबद्ध छन् । पहिलो चरणमा ती व्यवसायीको औद्योगिक क्षेत्रमा राख्ने एसोसिएसनको योजना छ ।
