

गान्तोक, 30 अप्रेल। सिक्किमका युवा निर्देशक मन्दीरा छेत्रीले निर्माण गरेको‘जागो ना’ शिर्षकको दुईवटा म्यूजिक भीडीयो भारत सरकारको चुनाउ आयोगले वर्ष 2019-को आम चुनाउमा मतदाताहरूलाई जागरुक गराउन प्रमुख भीडीयोको रूपमा पान इण्डिया प्रचार अभियानमा लिएको छ।

निर्देशक छेत्रीले तयार पारेको उक्त दुईवटा म्यूजिक भीडीयोले अहिले निक्कै राम्रो चर्चा पाइरहेको छ। ‘जागो ना’ बोलको म्यूजिक भीडीयोले राम्र दर्शकहरूको मन जित्न सफल बनेको छ। भारतको चुनाउ आयोगले जारी गरेको यो म्यूजिक भीडीयोको निर्माणको कथाबारे मिडिया सित आफ्नो अनुभव निर्देशक क्षेत्रीले साझा गरेकी छन्। उनले आफ्नो अनुभाव बारे बोल्दै आफूलाई दक्षिण जिल्लाको जिल्लापाल र एसडीएमले चुनाउ बारे कम्ति समयमै छोटो फिल्म बनाउनुपर्ने आमन्त्रण गरेको अनि त्यैसालाई चुनाउ आयोगले हेरेपछि मन पाराएर लिइएको हुनाले यो एउटा सफलता नै मान्न सकिने बताइन्। पछिल्लो केही समय देखि सिक्किमबाट भीडीयो र बित्तचित्र निर्देशन र सम्पादनमा लागिपरेकी छेत्रीले राष्ट्रीय स्तरमा रहेको प्रतिष्ठित संस्थान यसराज फिल्मबाट प्रशिक्षण लिएकी हुन्। निर्देशन तथा संपादन दुवै उनैले गरेको चुनाउ र मतदान जागरुकताको भीडीयो हिन्दी भाषामा फरक-फरक म्यूजिक भीडीयो रहेको छ। यसपालिको दुवै भीडीयो मतदाताहरूलाई आफ्नो मतदानको अधिकार प्रयोग गरेर देशलाई अघि बढाउन सहयोग गर्नुपर्ने आह्वान थिमको रूपमा राखिएको उनले बताइन्। अहिले भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी)-ले आफ्नो आधिकारिक यूट्यूब च्यानलमा दुवै भीडीयो राखिसकेको छ, जसको भ्यूअर राम्रो रहेकोले निर्देशक छेत्री उत्साहित पनि छन्। आफूले शुरुमा यो भीडीयोहरू नेपाली भाषामा बनाउने दक्षिण जिल्लाको चुनाउ अधिकारीको सुझाउमा तयार पारेको तर पछि राष्ट्रिय भाषामा पनि समेट्दा भने यसले राष्ट्रिय स्तरकै प्रसंसा पाइरहेको छ। नाम्ची कन्या पाठशालाको शिक्षक र विद्यार्थीहरूलाई लिएर तयार गरिएको यो म्यूजिक भीडीयो अधिकाङ्श भाग दक्षिण जिल्लामै छायाङ्कन गरिएको छ। निर्देशक क्षेत्री र उनको मार्क प्रोडक्सनले चुनाउ आयोगको निम्ति हिन्दी भाषमा पान इण्डिया थिममा यो भीडीयो निर्माण गरेको हो। भारत सरकारको चुनाउ आयोगले दुवै भीडीयो हेरेपछि सिक्किमको प्रमुख चुनाउ अधिकारीलाई पान इण्डियाको निम्ति मतदाता जागरुकता अभियानमा उपयुक्त हुने बताउँदै प्रयोग गर्ने अनुरोध गरेको थियो। जुन 23 मईसम्म चल्ने देशको 17औँ लोकसभा चुनाउको निम्ति मतदाताहरूलाई जागरुक गराउने मुख्य म्यूजिक भीडीयोको रूपमा प्रचार प्रसारमा रहने छ। फिल्म बनाउने सपना रहेको र अझै यसबारे धेरै कामहरू गर्नुपर्ने अनि कामहरूलाई चुनौति भन्दा पनि अवसरको रूपमा लिएर गर्दा सफलता निश्चय पनि पाउने युवा निर्देशक छेत्रीले आफ्नो सफलताको गाँठो यसरी फुकाइन्।


