साहित्यकार शिवकुमार राईको नाममा डाक टिकट जारी

साहित्यकार शिवकुमार राईको नाममा डाक टिकट जारी

ram naam satya

गान्तोक, 26 अप्रेलः भारतीय नेपाली साहित्याकाशका एक उज्जवल तारा कथाकार,उपन्यासकार तथा राजनैतिककर्मी स्वार्गीय शिव कुमार राईको नाममा भारत सरकारको हुलाक विभागले डाक टिकट जारी गरेको छ। आज स्वर्गीय राईको एक सयौं जन्मदिवसको अवसरमा गान्तोकस्थित नामग्यल इन्स्टीट्यूट अफ टिबेटोलोजी को प्रेक्षागृहमा आयोजित शिव कुमार राई जन्म शतवार्षिक समापन समारोहमा राज्यपाल गंगा प्रसादले डाक टिकटको विधिवत लोकार्पण गरे। भारतीय नेपाली साहित्यकारको निम्ति यो निक्कै ठूलो सम्मान मान्न सकिन्छ। शिव कुमार राई शतवार्षिकी समारोह समितिद्वारा आयोजित आजको कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा राज्यपालले नेपाली समाज र साहित्यको क्षेत्रमा स्वर्गीय राईले पुऱ्याएका योगदानको प्रशंसा गर्दै उनको जीवनीबाट प्रेरणा लिएर सबैले आफ्नो समाज र देशको निम्ति केही न केही योगदान दिने आह्वान गरे। कार्यक्रममा उपस्थित विशेष गरेर विद्यार्थीहरूलाई सम्बोधन गर्दै स्वर्गीय राईको जीवनीलाई अध्ययन गरेर आफ्नो जीवानमा उतार्ने राज्यपालले सुझाउ दिए।
स्वर्गीय राई पूर्व सिक्किमको रिनाकमा जन्मिएका थिए। उनले लेखेका कतिपय कथाहरूमा सिक्किम र रिनाकसितको सम्बन्धहरूलाई पनि परिलक्षित गरेको पाइन्छ। जसमा उनको एउटा चर्चित कथा तिब्बतको हुलाक पथ सिक्किमबाट तिब्बतसितको डाक सम्पर्कको विषयमा विशेष रोचक पाराले लेखिएको कथाले ऐतिहासिक तथ्यलाई पनि समेटेको पाइन्छ। डाकबंगला जस्तो चर्चित उपन्यास अनि अन्य धेरै कथा लेख्ने सफल शिवकुमार राई कुशल रेडियो वाचक, उद्घोषक तथा पश्चिम बङ्गाल सरकारको उप मन्त्री समेत रहेका कुशल राजनेताको रूपमा पनि स्थापित व्यक्तित्व थिए। उनले खहरे कथा संग्रहमा भारतको साहित्य अकादमी पुरस्कार पनि जितेका थिए।
कार्यक्रमको आयोजन शिवकुमार राई सतवार्षिकी आयोजन समितिले गरेको थियो। कार्यक्रममा राज्य सरकारको यातायात विभागका सचिव तथा आयोजक समितिका अध्य़क्ष शङ्करदेव ढकाल, सिक्किम कलाकार संघका अध्यक्ष सीएल घिमिरेले पनि सम्बोधन गरेका थिए। यसैगरि कार्यक्रममा कलाकार र विद्यार्थीहरूले साँस्कृतिक एंव सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा सिक्किमेली नेपाली साहित्य जगतका केही स्थापित हस्ताक्षर, कलाकारहरू साथै सिक्किम विश्वविद्यालय र नरबहादुर भण्डारी डिग्री कलेजका विद्यार्थीहरूको बाक्लै उपस्थिति रहेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *