साझा मानव भाग्य समुदाय र मानव अधिकार सुशासन विषयक दक्षिण-दक्षिण मानव अधिकार मञ्च

ram naam satya
(GMT+08:00) 2017-12-07 17:57:20

साझा मानव भाग्य समुदाय र मानव अधिकार सुशासन विषयक दक्षिण-दक्षिण मानव अधिकार मञ्च विहीबार पैचिङमा शुरू भयो। काठमाडौं स्कूल अफ लका प्रमुख एवं यस मञ्चका कार्यपत्र प्रस्तोता डा.युवराज संग्रौलाले मानव अधिकार र विकासलाई एक आपसमा जोड्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभयो।

आर्थिक विकास नगरीकन सामाजिक रूपान्तरण तथा मानवअधिकार सुरक्षित हुन नसक्ने बताउँदै उहाँले हरेक वर्ष दक्षिण दक्षिण सहयोग मञ्चमा फरक फरक विषयमा वहस चलाउने गरिएको बताउनुभयो।

साझा भविष्य निर्माणका लागि आर्थिक, सामाजिक तथा राजनीतिक स्थिरता अपरिहार्य भएको बताउँदै उहाँले फरक फरक परिवेश भएतापनि सबैको मानवअधिकार एउटै हुने उल्लेख गर्नुभयो।

सिआरआई नेपाली सेवासँगको संक्षिप्त अन्तर्वार्ताका क्रममा डा.संग्रौलाले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनका क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनले समाजवादलाई वैज्ञानिक विकाससँग जोड्नुपर्ने र मानव तथा वातावरणबीच सन्तुलन गर्नुपर्ने कुरालाई उजागर गरेको बताउनुभयो। सीको प्रतिवेदनले अधिकांश विकसित तथा अल्पविकसित सबै मुलुकको आम धारणा बन्दै गएको भन्दै डा.संग्रौलाले भन्नुभयोः आर्थिक वृद्धिदर मात्रै ठूलो कुरा होइन, वैज्ञानिक विकास र सामाजिक तथा आर्थिक रूपान्तरणमार्फत् गुणात्मक विकास गर्नुपर्नेमा चिनियाँ राष्ट्रपति सीको नीति केन्द्रित देखिन्छ।

एक पेटी एक मार्ग चीनले अघि सारेको समग्र मानव समुदायको साझा भाग्य निर्माणको कडी भएको बताउँदै डा.संग्रौलाले शान्ति विना विकास हुन नसक्ने भएकाले चीनले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धको कडीको रूपमा प्रस्तुत गर्दै गरेको बताउनुभयो।

नेपाल, पाकिस्तान, बंगलादेश, नाइजेरिया, बेलारूस, साउदी अरव, लगायत १९ वटा देशका प्रतिनिधिहरूले सम्मेलनमा भाग लिएका छन्। सम्मेलन अवधिमा मानव भाग्य समुदायको निर्माण तथा विश्व मानवअधिकार नियमन प्रवर्द्धन लगायत विभिन्न विषयमा सहभागी मुलुकहरूबीच छलफल हुनेछ।

सहभागीहरूले समावेशी विकास तथा दक्षिण-दक्षिण मानवअधिकार कार्यान्वयन, दक्षिण-दक्षिण मुलुकहरूको शैक्षिक अधिकार संरक्षण, दक्षिण-दक्षिण मुलुकहरूको गरिबी निवारण तथा खाद्यअधिकार संरक्षण लगायतका विषयमा सम्बन्धित मुलुकको प्रतिनिधित्व गर्दै वैचारिक आदानप्रदान गरिरहेका छन्।

दक्षिण दक्षिण सहयोग मञ्च चीन र यस क्षेत्रका मुलुकहरूबीच विकासको मार्गचित्र प्रस्तुत गर्दै विकास लक्ष्य हासिल गर्ने प्रयत्नस्वरूप गठन गरिएको एउटा फोरम हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *