सभाहल निर्माण गरिँदै

 सभाहल निर्माण गरिँदै

रामपुर (पाल्पा), २३ फागुन :

सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो ।

 

नगरपालिका कार्यालयबाट गत आर्थिक वर्षमा रु आठ लाख र चालू आवको हिउँदे अधिवेशनबाट रु १५ लाख बजेट सभाहल निर्माणका लागि प्राप्त भएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिनुभयो । अहिले चारैतिर गारो लगाउने, झ्यालढोकाको फ्रेम राख्ने कार्य सकिएको छ भने अब ढलानको काम बाँकी छ ।

 

“क्याम्पसमा हुने सभा, समारोह तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्न थालिएको हो”, क्याम्पस प्रमुख काफ्लेले भन्नुभयो, “सभाहल सम्पन्न भएपछि क्याम्पसका विभिन्न गतिविधि आयोजना गर्न सहज हुनेछ ।” सभाहल निर्माण गर्न रु ३५ लाख आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार २५ प्रतिशत लागत सहभागीता र क्याम्पसको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ । करिब दुई सय ५० जना अट्ने क्षमताको सभाहल तयार हुँदैछ ।

 

 

 

हाल क्याम्पसमा चालु रहेको सभाहल सानो र व्यवस्थित नहुँदा क्याम्पसका गतिविधि आयोजना गर्न समस्या भइरहेको छ । क्याम्पसमा बेला–बेलामा विद्यार्थीका विभिन्न गतिविधि सञ्चालन गर्न हल सानो हुँदा समस्या भइरहेको अवस्थामा विद्यार्थी र क्याम्पस प्रशासनको अनुरोधमा रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि सभाहल निर्माण प्रक्रिया अगाडि बढेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति ल्याकत अलि बताउनुहुन्छ ।

 

 

 

सहिद बहुमुखी क्याम्पस पूर्वी पाल्पाको सबैभन्दा ठूलो शैक्षिक संस्था हो । यहाँ कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएको छ । विद्यालय तहको शिक्षा सकिएपछि उच्च शिक्षाका लागि यस क्याम्पसमा पाल्पा, स्याङजा, तनहुँ, नवलपुरलगायत जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *