

नेपाल सरकारले सन् २०२१ मा हुने संयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता महत्वपूर्ण सूचकांकमा सुधार ल्याउन अझै समय लाग्ने भएकाले उक्त प्रस्ताव सन् २०२१ मा लान लागिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो। विकासशील राष्ट्र हुन कूल राष्ट्रिय आय, मानवीय संसाधनको विकास र आर्थिक जोखिमको अवस्था गरी तीन मुख्य सूचकांक रहेका र तीमध्ये मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएकाले तत्कालै विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने अवस्था विद्यमान नरहेको उहाँले जानकारी दिनुभयो।

नेपाललाई अझै पनि सहुलियतपूर्ण अन्तर्राष्ट्रिय सहयोग तथा व्यापारमा सहजीकरणको आवश्यकता भएकाले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो।

राष्ट्रसंघमा आर्थिक स्तरोन्नति सम्बन्धमा प्रत्येक तीन-तीन वर्षमा समीक्षा बैठक हुने गर्दछ। सरकारले सन् २०१८ को समीक्षा बैठकमा उक्त प्रस्ताव लैजाँदा जोखिम बढ्ने देखिएकाले सन् २०२१ मा मात्रै लैजान खोजिएको हो।

यसअघि राष्ट्रिय योजना आयोगले पनि सन् २०२१ मा उक्त प्रस्ताव लैजान तत्कालीन सरकारलाई सुझाव दिएको थियो।

