

भूकम्पका कारण अति प्रभावित नेपालका १४ जिल्लामा ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भइरहेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अति प्रभावित १४ जिल्लामा एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने तीन लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको गोरखापत्र अनलाइनले लेखेको छ।
ती जिल्लामा कूल छ लाख ६७ हजार ६६२ मध्ये छ लाख १० हजार पाँच सय भूकम्प पीडितसँग अनुदान सम्झौता भएको छ। पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। यही अनुपातमा निजी आवास पुनःनिर्माणको काम अगाडि बढे आगामी वर्षाद्अघि करिब ६० प्रतिशत पुनःनिर्माण भइसक्ने प्राधिकरणको दाबी छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निजी आवास पुनःनिर्माणको समयसीमा तोकिएको, प्राविधिकहरू स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रूपमा सञ्चालन गरिएको, निर्माण सामग्री तथा काठको आपूर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘प्राधिकरणले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तत्र्रिmया गरेर पुनःनिर्माणका लागि थप प्रोत्साहन गरिरहेका छौँ। ‘

भूकम्प कम प्रभावित भनिएका १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा अझै आइसकेको छैन। ती जिल्लाको विवरण पनि आइसकेपछि निर्माणाधीन र निर्माण सम्पन्न घरको सङ्ख्या अझै बढ्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो।

ती जिल्लामा रहेका कुल एक लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले बताउनुभयो।