सगरमाथा आधार शिविरमा आरोहीहरु खचाखच

ram naam satya

नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोली सगरमाथाको आधार शिविरमा प्रवेश गर्न थालेपछि यतिखेर आधारशिविर खचाखच भएको छ। यस वर्ष विभिन्न देशका विदेशी तथा स्वदेशी ५५६ जना आरोही सगरमाथालगायतका हिमाल आरोहण गर्न आधार शिविरमा भेला भएका गोरखापत्र अनलाइनले लेखेको छ।पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि विदेशी ३५ समूहबाट ३६५ जना, स्वदेशी छ समूहबाट १३ जना गरी ४१ समूहका ३७८ जना आरोही आधार शिविर प्रवेश गरेका छन्। अघिल्लो वर्ष ३४ समूहका ३२६ जना आरोही थिए।

त्यस्तै, ल्होत्से हिमालको आरोहणका लागि यस वर्ष दस समूहका ९२ जना, नुप्त्से हिमालका लागि तीन समूहका ३७ जना र आमाडब्लमका लागि पाँच समूहका ४९ जना आरोही सहयोगीसहित आधार शिविरतर्फ लागेको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो।

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधार शिविरमा घुइँचो भएको हो। दुई वर्षसम्म लगातार प्राकृतिक विपत्तिका कारण अवरुद्ध हुँदा आरोहण गर्न नपाएका अघिल्लो वर्षबाट आरोहणका लागि आधार शिविर आएका छन्। अधिकांश आरोही आधार शिविरबाट क्याम्प एक, दुई, तीन हुँदै चारसम्म जान थालेका छन् भने केही आरोही आधार शिविरमै तयारीमा जुटिरहेका छन्।

सगरमाथालगायत सोलुखुम्बुका हिमाल आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)बाट प्रवेशाज्ञा लिएर मात्र जानु पर्दछ। सबै आरोहीले एउटै आधार शिविर प्रयोग गर्नाले पनि शिविरमा आरोही तथा उनीहरूका सहयोगीसहित करिब एक हजारभन्दा बढी भएको एसपीसीसीले जनाएको छ। हाल आधार शिविरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाइड र सहयोगी रहेका छन्।

सगरमाथा आधार शिविरमा खाद्यान्न तथा दैनिक प्रयोगका सामग्री ओसारपसार गर्ने, बाहिर घुमफिर गर्ने तथा आरोहण दलका क्लाइम्बिङ गाइड तथा अन्य कर्मचारीका कारण यत्तिबेला सगरमाथा आधार शिविर आरोहीको बजार जस्तै देखिन थालेको उहाँले बताउनुभयोे। आधार शिविरमा ‘स्प्रिङ सिजन’ को विशेष रौनक देखिएको बताइएको छ। वर्षको दुई पटक आरोहणका लागि खुल्ला गरिए पनि हिमाल आरोहीहरूले सगरमाथा आरोहणका लागि वसन्त ऋतुलाई नै बढी रोज्ने गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *