

(GMT+08:00) 2017-12-10 16:02:49
संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला सम्बन्धी उप-महासचिव जेफरी फेल्टमानले हिजो डिसेम्बर 9 तारिखका दिन उहाँको उत्तर कोरियाको भ्रमणबारे जानकारी दिँदै कोरियाली प्रायद्वीपको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। जेफरी फेल्टमानले डिसेम्बर 8 तारिख उत्तर कोरियाको चार दिने भ्रमण सम्पन्न गर्नुभएको थियो। त्यसपछि सञ्चारमाध्यमलाई पठाएको एउटा समाचारमा उहाँले कूटनीतिक तरिका तथा सदिच्छापूर्ण वार्तामार्फत मात्र कोरियाली प्रायद्वीपको वर्तमान तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न सकिने कुरा उल्लेख गर्नुभयो।
जेफरी फेल्टमानले डिसेम्बर 5 तारिखदेखि 8 तारिखसम्म उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो। भ्रमणको अवधिमा उहाँले उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो तथा उप-विदेश मन्त्री पाक म्युङ कुकसँग साझा रुचिका विषयहरुबारे व्यापक रुपमा छलफल गरी कोरियाली प्रायद्वीप समस्याबारे वैचारिक आदान-प्रदान गर्नुभएको थियो।