



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

“नेपाललाई निरक्षरहरुको होइन,विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ। विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन।”
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताउनुभएको छ। “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रम ओलीले भन्नुभयो “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन्।”

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पार्नुभएको छ। “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भन्नुभयो “अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ।”
गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गर्नुभएको छ। “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो। हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ। यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ। यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो।
अन्तरक्रियालाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले सहजिकरण गर्नुभएको थियो।
kpsharmaoli.com.np बाट
