शहरी विकास परियोजना कार्यान्वयन गर्न एशियाली विकास बैंकको ऋण

ram naam satya
(GMT+08:00) 2017-11-28 15:58:30
एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ। ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन्।आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ।

परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए। उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजना सम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरे।

देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *