वैशाख १ देखि काठमाडौँमा थोत्रा गाडी गुडाउन नपाइने

ram naam satya

नेपालका जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आगामी वैशाख १ गतेदेखि काठमाडौँमा धूवाँ फ्याँल्ने थोत्रा गाडीमा प्रतिबन्ध लगाउने बताउनु भएको छ। उहाँले भन्नुभयो, “इमानदारीपूर्वक सबैको साथ पाए एक वर्षमा काठमाडौँलाई मास्करहित सहर बनाउने मेरो अठोट छ, म जे भन्छु त्यही गरेर देखाउँछु, आगामी वैशाख १ गतेदेखि काठमाडौँमा धूवाँ फ्याँल्ने थोत्रा गाडीमा प्रतिबन्ध लाग्छ।”
दासढुङ्गा दुर्घटनामा निधन हुनुभएका नेकपा एमालेका तत्कालीन संगठन विभागका प्रमुख जीवराज आश्रितको सालिक अनावरण गर्दै उहाँले उक्त विचार व्यक्त गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ। नेता मदन भण्डारी र जीवराज आश्रित साँच्चिकै मनका धनी र मुलुकका निम्ति उच्च नेता भएको उहाँले बताउनुभएको छ। उहाँले नेपालमा भएका सबै नेता इमानदार भएको भए मुलुकको उहिल्यै परिवर्तन भइसक्थ्यो भन्नुभयो।

“नेता आश्रित र भण्डारीको मनमा विभेद र घमण्ड भन्ने शब्दै थिएन, मुलुकका निम्ति साँच्चिकै इमानदार र निष्ठावान नेता हुनुहुन्थ्यो,” पण्डितले स्मरण गर्नुभयो।

इमानदारीपूर्वक जनता र सबैको साथ पाए आफूले एक वर्षमा धेरै काम गरेर देखाउने प्रतिबद्धता मन्त्री पण्डितले गर्नुभयो। उहाँले प्लास्टिकको विकल्पको खोजी पनि आफूले गरिरहेको बताउनुभयो। देश र जनताको हितमा हुने जस्तोसुकै चुनौतीपूर्ण काम गर्न तयार छु भन्दै मन्त्री पण्डितले भन्नुभयो, “जनताको हितका लागि आगोको मुस्लोमात्र हैन, ज्वालामुखीसँग लड्न तयार छु। ” नेपालमा प्रकृतिको अनुपम उपहार भए पनि सदुपयोग गर्न नसक्दा मुलुक पछि परेको उहाँले बताउनुभयो। “यहाँको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र सदुपयोग गर्न सके विदेशमा भएका नेपालीलाई स्वदेश फर्काएर विदेशी पाहुनाको मनोरम थलो नेपाललाई बनाउन सकिन्छ,” मन्त्री पण्डितले भन्नुभयो।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले जनताको मनमा बस्न सफल मन्त्री पण्डितको सिको अरू मन्त्री र नेताले पनि गर्नुपर्ने बताउनुभयो। राधिका ट्रस्टद्वारा आयोजित सालिक अनावरण कार्यक्रममा वडाअध्यक्ष शुद्धकुमार डङ्गोलले जनताले चाहेको जस्तो मुलुकको समृद्धि गर्ने बेला आएको बताउनुभयो। ट्रस्टकी अध्यक्ष राधिका पोखरेलले समाजका निम्ति सकेको काम सबैले गर्न आवश्यक रहेको बताउनुभयो।

आश्रितकी श्रीमती माया ज्ञवालीले मुलुकका लागि सबैले इमानदारीपूर्वक काम गर्न आग्रह गर्नुभयो। काठमाडौँको गोपीकृष्णनगरस्थित आश्रितको नाममा सरकारले उपलब्ध गराएको ६ आना जग्गामा निर्मित भवन अगाडि स्वर्गीय आश्रितको मूर्ति अनावरण गरिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *