वैदेशिक रोजगारीमा सीप अनिवार्य

ram naam satya
वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप अनिवार्य गर्ने प्रस्ताव अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । बोर्डले गरेको प्रस्तावमा मन्त्रालयले स्वीकृति जनाउने बित्तिकै कार्यान्वयन हुने बताइएको छ।

पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वार्षिक चारदेखि पाँच लाख छ । तीमध्ये अधिकांश सीप नसिकी गइरहेका छन् । सीप नसिकी विदेश जाँदा एकातिर राम्रो पारिश्रमिक पाउन सकेका छैनन् भने अर्कोतर्फ ठूलो संख्याका कामदार पठाउँदासमेत नेपालले प्राप्त गर्ने रेमिटेन्समा सुधार हुन सकेको छैन।

केही वर्षअघि केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको विवरणअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष हुन्छन्। ठूलो संख्याका कामदार अदक्ष हुँदा विदेशमा तिनै कामदार सर्वाधिक शोषणमा पर्ने गरेका छन्। कामदार शारीरिक, मानसिक, आर्थिक लगायत शोषणमा पर्नुको कारण सीपको अभाव ठानिएपछि पहिलोपटक वैदेशिक रोजगारीमा जान कामदारका लागि सीप अनिवार्य गर्ने तयारी गरिएको हो।

कामदार शारीरिक, मानसिक, आर्थिक लगायत शोषणमा पर्नुको कारण सीपको अभाव ठानिएपछि पहिलोपटक वैदेशिक रोजगारीमा जाने कामदारका लागि सीप अनिवार्य गर्ने तयारी गरिएको नागरिकन्यूज डटकमले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारी र निजी संस्थाले सीप सिकाउने व्यवस्था मिलाउने गरी सीप विकास तालिम कार्यविधि तयार पारी अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाइएको बताउनुभयो । ‘सीपलाई बढी व्यवहारिक र कार्यमूलक बनाउन निजी संस्थाले वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउने र सरकारी निकायले अनुगमन गर्नुको साथै प्रमाणपत्रको प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो।

रेमिटेन्सको आकार कुल गार्हस्थ उत्पादनको २९ प्रतिशत बराबर भए पनि सरकारले भने अहिलेसम्म वैदेशिक रोजगारीमा जाने कामदारलाई कुनै तालिम र सीप सिकाउने गरेको छैन । सीमित व्यक्तिले आफ्नै प्रयासमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने गरे पनि अधिकांश कुनै सीपबिना नै वैदेशिक रोजगारीमा जाने चलन छ। अधिकांश कामदार विदेशमा गर्नुपर्ने काम उतै गएर मात्र सिक्ने गर्छन्।

वैदेशिक रोजगारीमा जाने कतिपय कामदारलाई गन्तव्य मुलुकमा सडक पार गर्ने तथा कोठामा एसी चलाउने जस्ता सामान्य ज्ञान पनि नहुने गरेको पाइन्छ। जसले गर्दा गुजाराको जोहो गर्न रोजगारीमा पुगेका कामदार विदेशमै ज्यान गुमाउन बाध्य छन् । बोर्डका अनुसार २०६५ सालयता वैदेशिक रोजगारीका क्रममा विभिन्न गन्तव्यमा पुगेका ६ हजार २ सय ७० नेपालीले ज्यान गुमाइसकेका छन्।वैदेशिक रोजगारीका क्रममा कामदार समस्यामा पर्नु तथा वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक प्राप्त गर्न नसक्नुमा सीप अभाव ठहर गर्दै बोर्डले प्रभावकारी तालिमको आवश्यकता महसुस गरेको बोर्डकी निर्देशक निर्मला थापाले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *