वृद्धभत्ता हटाउने नेपाल सरकारको तयारी

ram naam satya

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको नागरिकन्यूज डटकमले जनाएको छ। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो।

२०७४ सालमा सम्पन्न निर्वाचनमा वृद्धभत्ता बढाउन दलहरुबीच प्रतिस्पर्धा नै चलेको थियो। चुनावी घोषणापत्रमा प्रमुख दलहरुले वृद्धभत्ता बढाएर ५ हजार पु-याउने उल्लेख गरेका थिए। अहिले चुनावबाट निर्वाचित भएर आएको कम्युनिस्ट सरकारले घोषणापत्रअनुसार वृद्धभत्ता नबढाएको भन्दै आलोचना भइरहेका बेला सरकार वृद्धभत्ता व्यवस्थित गर्नतिर लागेको छ।

सञ्चारमन्त्री बाँस्कोटाले वृद्धभत्ताको सुरुआत् कम्युनिस्टले नै गरेको भन्दै बढाउने वा व्यवस्थित गर्ने कुरामा अरुले चिन्ता लिनुनपर्ने बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने स्पष्ट पार्नुभयो।

पाहुनालाई समेत पाल्ने नेपाली समाजमा जिन्दगीभर छोराछोरी हुर्काउने आमाबुवा जीवनको उत्तरार्धमा सरकारी वृद्धभत्ता र आश्रमको शरणमा बाँच्नुपर्ने खराब संस्कार विकसित हुन नदिन सरकार सचेत रहेको बाँस्कोटाले सुनाउनुभयो। मन्त्री बाँस्कोटाले ज्येष्ठ नागरिकको जीवनको सुरक्षाका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हुने र यसैका लागि सरकारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत् गरेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *