वृक्षारोपण गर्दै नेपालकी राष्ट्रपति भण्डारीद्वारा बेइजिङ एक्स्पो बागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बगैंचाको उद्घाटन

ram naam satya

राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङ एक्स्पो-२०१९ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’मा लोठसल्लाको बिरुवा रोपेर उद्घाटन गर्नुभएको छ। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गर्नुभएको थियो। राष्ट्रपति भण्डारीले एक्स्पोभित्रै लुम्बिनी शान्ति बगैंचा उद्घाटन गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्पूर्णरूपमा एक्स्पो उद्घाटन गर्नुभएको हो।

उद्घाटन पहिले राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँगै एक्स्पो अवलोकन गर्नुभयो। एघार मुलुकका राष्ट्रनायक तथा सरकार प्रमुखले भाग लिएको एक्स्पो उद्घाटन समारोहमा विभिन्न देशमा उच्चस्तरका नौ सय व्यक्ति उपस्थित थिए। ‘हरित जीवन, सुन्दर घर’विषयमा यो एक्स्पो आगामी १ सय ६२ दिनसम्म चल्नेछ। एक्स्पोमा १ सय १० वटा मुलुक र अन्तर्रांष्ट्रिय संगठनले आफ्नो प्रदर्शनी गरेका छन्। नागरिकन्यूज डटकमका अनुसार चीनको खुन मिन विश्व बागवानी एक्स्पो, सांघाई विश्व एक्स्पो र पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोपछि चीनले आयोजना गरेको यो सबैभन्दा ठूलो एक्स्पो हो।

एक्स्पोभित्र नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा लुम्बिनी शान्ति बगैंचा निर्माण गरिएको छ। हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी क्षेत्रमा नेपालको प्रतिनिधित्व हुने गरी लुम्बिनी शान्ति बगैंचा निर्माण भएको हो।

लुम्बिनी शान्ति बगैचामा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ र त्यसभित्र ११ फिट अग्लो बुद्धको मूर्ति पनि राखिएको छ। बुद्धको मूर्ति नेपालमा बनाएर चीनमा ल्याइएको हो।

नेपालको तर्फबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले नेपालबाट प्राविधिक ल्याई त्यसको लुम्बिनी शान्ति बगैंचा निर्माण गरेको हो। इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाहले सुरुमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको बिरुवा ल्याएर राष्ट्रपति भण्डारीको हातबाट रोप्ने योजना रहेको तर त्यो सम्भव नभएको बताउनुभयो। नेपालबाट बिरुवा चीनमा ल्याउनका लागि क्वारेन्टाइनलगायत कानुनी जटिलता रहेको र त्यसका लागि निकै लामो समय लाग्ने भएकाले चीनबाट जुटाइएको लोठ सल्लाको बिरुवा राष्ट्रपतिको हातबाट रोपिएको हो। राष्ट्रपति भण्डारीले सल्लाको विरुवा रोपेर उद्घाटन गरेपछि स्मृति पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *