


नेपालका राष्ट्रपतिद्वारा उच्चस्तरीय वार्तालार्इ सम्बोधन


चीनको राजधानी पैचिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा बिहीबारबाट सुरू भएको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको छ।


आज सम्मेलनमा सम्बोधन गर्दै सीले बेल्ट एन्ड रोडको निर्माणबाट विश्व अर्थतन्त्रको नयाँ ढोका खोलिने बताउनुभएको छ। यस परियोजनाले विश्वमा व्यापार र लगानीको विस्तार गर्ने वातावरण तयार गर्नुका साथै सहभागी देशका जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। साझा निर्माणलाई उच्च गुणस्तरको विकासबाट अगाडि बढाउने, साझा परामर्श, साझा निर्माण र साझा आदानप्रदानको सिद्धान्त बमोजिम खुला, हरित र स्वच्छ धारणालाई कायम राख्दै दिगो विकासको लक्ष्यलार्इ साकार तुल्याउन प्रयास गर्नुपर्ने पनि बताउनुभएको छ।


यसै सम्मेलनको दोस्रो सत्र उच्चस्तरीय वार्तामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको छ। उहाँले सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको भन्दै महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्नुभएकोमा चिनियाँ राष्ट्राध्यक्षलार्इ धन्यवाद दिनुभयो।

साथै जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालार्इ बधाइ ज्ञापन गर्नुभयो।

राष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्राध्यक्ष सीको दूरदृष्टिले विशाल सम्भावना बोकेको र बीआरआर्इले दिगो विकासका लक्ष्यहरू कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पनि सम्बोधनको क्रममा बताउनुभयो।
साथै राष्ट्रपति भण्डारीले दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनको भव्य सफलताको पनि कामना गर्नुभयो।