विश्वका १ सय ५६ मुलुकसँग नेपालको प्रत्यक्ष कूटनीतिक सम्बन्ध

ram naam satya
अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ। राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र संघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले न्यूयोर्कस्थित नेपालको स्थायी नियोगमा यससम्बन्धी एक संयुक्त वक्तव्यमा शुक्रवार हस्ताक्षर गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यसबारे जानकारी दिँदै लेखिएको एक संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको राष्ट्र संघस्थित नेपाली नियोगले जनाएको छ। सो अवसरमा आगामी दिनमा दुई मुलुकबीच आपसी सहयोग थप सुदृढ गर्दै लैजाने विभिन्न उपायका बारेमा विचार आदानप्रदान भएको थियो। यसअघि नै दुवै मुलुकले राष्ट्रसंघमा र अन्य बहुपक्षीय मञ्चहरुमा निकट रहेर काम गर्दै आएका छन्।

पहिले अपर भोल्टा भनेर चिनिने यो मुलुकको नाम सन् १९८४ मा बुर्किना फासो राखिएको हो जसको अर्थ ‘इमान्दार जनताको भूमि’ भन्ने हुन्छ। कूल दुई लाख ७४ हजार २०० वर्गकिमीमा फैलिएको र एक करोड ७० लाख जनसंख्या रहेको यो भूपरिवेष्टित मुलुक हो। यसको राजधानी औगादुगो हो । सन् १९६० अगष्ट ५ मा फ्रान्सबाट स्वतन्त्र भएको यो मुलुकले सोही वर्ष सेप्टेम्बर २० मा राष्ट्रसंघको सदस्यता लिएको थियो। अल्पविकसित दुवै राष्ट्र जी–७७ का साथै असंलग्न आन्दोलनमा सदस्य छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *