

काममा तिब्रता दिएसँगै भैरहवा विमानस्थल आयोजनाले चिनीयाँ कम्पनीसँग ठेक्का नतोड्ने निश्कर्ष निकालेको छ। यसअघि आयोजनाले काम अघि नबढाएपछि चिनीयाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो।

ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले व्यवस्थापन टिम नै परिवर्तन गर्यो। यसअघिको टिमले आयोजना स्थलहरुमा ६० वटा मात्रै कामदार खटाएको अनलाइन खबरले लेखेको छ। कामदारहरुको सख्ंया अत्यन्त न्युन भएका कारण आयोजनाको काम अघि बढ्नै सकेको थिएन। जसका कारण सरकारले दिएको समयमसीमामा यसले काम सम्पन्न गर्न सक्ने स्थिति थिएन। सन् २०१८ को जुन सम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्नुपर्छ। सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो। समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ।

केही समयदेखि चिनियाँ कम्पनी आफैंले काम गरिरहेको छ। साना काममा मात्र नेपाली ठेकेदारहरुले जिम्मा पाउने गरेका छन्। अहिले १० जना चिनियाँ कामदार रहेका छन्। यसलाई बढाएर २ सय जना पुर्याउन लागिएको हो। अहिले मेसिनको संख्या पनि बढाउँदै लगेको छ। शर्माकाअनुसार ६० प्रतिशत जति काम अहिले मेसिनबाट हुने गरेको छ।

सुरुमा विमानस्थल निर्माणका लागि नर्थ वेस्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो। यी दुवै कम्पनीबीच रकम लेनदेनमा विवाद आएपछि चिनियाँ कम्पनी आफैंले निर्माण गर्दै आएको हो। सुरुमा ठेकेदार र सहठेकेदारवीच बेलाबेला देखिएको विवादले लक्ष्य अनुरुप काम अघि बढ्न सकेको थिएन।

चिनियाँ कम्पनीले भौतिक प्रगति मासिक ६ प्रतिशतले गर्नुपर्ने थियो। तर नेपाली कम्पनीसँगको विवादले ०.५ प्रतिशतका दरले मात्र काम गरिररहेको थियो। अहिले भने यसले काममा तीब्रता ल्याएको शर्माको भनाइ छ ।
यसरी दुई कम्पनी वीचको बिबादले काम रोकिएपछि प्राधिकरणले ‘नोटिस टु करेक्ट’ पठाएको थियो। यो पठाएपछि निर्माण कम्पनीले व्यवस्थापकीय टोली फेरेको थियो। यसअघिका ठेकेदार विमानस्थल निर्माणको काम भन्दा पनि काठमाडौंमा अन्य व्यवसाय गर्नमा तल्लिन रहने गर्दथे। शर्माका अनुसार अहिलेसम्म भैरहवा विमानस्थलको जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ। सन् २०१८ को जुन सम्ममा ८० प्रतिशत काम भने सक्नको लागि कठिन देखिन्छ।