विमानस्थलमा दोस्रो पुस्ताको राडार संचलानमा

ram naam satya
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो बिहीबारदेखि दोस्रो पुस्ताको राडार औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। प्राधिकरणका अनुसार बिहीबार बिहान ६:३० बजेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको राष्ट्रिय समाचार समितिले लेखेको छ। हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्राधिकरण, जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले यही माघ १० मा प्राविधिक पक्षको स्थलगत अनुगमन गरी राडार सञ्चालनबारे जानकारी लिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ। नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ। भट्टेडाँडाको २ हजार २ सय फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रिय विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको प्रवक्ता ठाकुरको भनाइ छ।

विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने आजदेखि सञ्चालनमा आएको राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ। नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ। उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ। सञ्चालनमा आएको राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिनेछ। ‘राडारको कामको सूक्ष्म अनुगमनपछि त्यसको प्रभावकारिता के कति रहेको छ भन्ने जानकारी दिइन्छ। पहिलो दिनमा नै हवाई उडानमा केही सहजता थपिएको छ,’ प्रवक्ता ठाकुरले भन्नुभयो। नयाँ राडारबाट काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमारहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ। विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिनेछ।

राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उहाँको भनाइ छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *