

सन् २०२२/२३ मा तीन हजार ३६६ मेगावाट पुग्ने प्रक्षेप गरेको आयोगले सन् २०२५ सम्ममा चार हजार ५१९ मेगावाट पुग्ने बताएको छ। सन् २०३३/३४ मा १० हजार ११५ मेगावाट उच्चत्तम माग पुग्ने लक्ष्य निर्धारण गरेको आयोगले सन् २०३६/३७ मा १३ हजार ५४० मेगावाट विद्युत माग हुने जनाएको छ। सन् २०३९/४० को माग सम्बोधन गर्नका लागि २३ हजार ५७९ मेगावाट विद्युत् आवश्यक पर्ने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष सामान्य अवस्थामा १५ प्रतिशतको दरले विद्युत् माग बढ्ने गरेको छ । हाल घरायसी ग्राहकको मात्रै संख्या बढी रहेकाले माग बढेको जस्तो नदेखिए पनि औद्योगिक क्षेत्रको विस्तार तथा विकासका कारण माग ह्वात्तै बढ्ने सम्भवना बढ्दै गएको छ। गत वर्षदेखि अन्त्य भएको विद्युतभार कटौतीका कारण मुलुकमा औद्योगिक क्षमता बढेको छ भने औद्योगिक उत्पादनको मात्रामा समेत बढोत्तरी भएको छ।