

नेपालको सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धन सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रित रहने बताउनु भएको छ। नवलपरासीको बर्दघाटमा शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले विकासका लागि सुशासन अनिवार्य भएको पनि बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
‘जनताले स्थायित्व र विकास खोजेका छन्’, प्रचण्डले भन्नुभयो, ‘तर यसका लागि सुशासन नभई हुँदैन, न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी विकास सम्भव हुँदैन।’

आर्थिक विकासका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै प्रचण्डले आफू र केपी ओली प्रधानमन्त्री हुँदा पटकपटक ल्हासाबाट लुम्बिनी रेलमार्ग बनाउने कुरा चीन सरकारसँग भएको स्मरण गरे र अब त्यो पूरा हुने चरणमा रहेको खुलाउनुभयो।

‘तिब्बतको ल्हासा–लुम्बिनी रेलमार्ग अब सपना मात्र रहेन, त्यो रेल आउँदैछ’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँदैछ, त्यसबाट लाखौं पर्यटक भित्र्याउन सकिन्छ।’

वामगठबन्धनको झण्डै दुई तिहाई बहुमतको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै प्राथमिकतामा नभएको बताउँदै अध्यक्ष प्रचण्डले तर त्यसका लागि भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने दावी गर्नुभयो।
‘अहिले न्यायाल, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ, एमाले–माओवादीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौं’, अध्यक्षले प्रचण्डले भन्नुभयो, ‘न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाका पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाउने समय आएको छ, भ्रष्टाचार गर्ने कर्मचारीलाई जेल हाल्ने बेला आएको छ।’
एमाले–माओवादी एकताबाट विदेशी प्रतिक्रियावादी दलाल मात्रै दुखी भएको र अत्तालिएको दावी गर्दै प्रचण्डले भन्नुभयो, ‘धेरै घेराबन्दी, चाल र षडयन्त्रलाई असफल पारेर पार्टी एकताको समझदारी बनेको हो।’
कार्यक्रममा प्रचण्डले पार्टी एकताका सहयात्री ओलीको पनि प्रशंसा गर्नुभयो। ‘केपी ओलीजी र मलाई देश र जनताको सेवाबाहेक अरु केही लिनुदिनु छैन’? उहाँले भन्नुभयो, ‘एकजना १४ वर्ष जेल बसेको र अर्को वर्षौं बनबास बसेका व्यक्ति नेतृत्वमा छौं।’
वाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्धिबाहेक अरु कुनै एजेण्डा नभएको बताउँदै प्रचण्डले नेपाल विकास र सुशासनमा पनि सगरमाथा जस्तो उदाहरणीय बन्नु पर्ने उल्लेख गर्नुभयो।
वाम सरकारले तीब्र विकासको चाहना राखेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘गौतम बुद्धले २६ सय वर्ष अघि ज्ञान दिए, अब हामी नयाँ मोडेलको समाजवाद दिन सक्छौं।’
नेपालका अगाडि ऐतिहासिक अवसर र अग्निपरीक्षा रहेको बताउँदै प्रचण्डले हिजोका दिनमा विकास नहुँदा दोष दिने ठाउँ भएपनि अब कसैलाई दोष दिएर उम्किने ठाउँ नभएको बताउनुभयो।
