

‘स्थलमार्गबाट आउने प्राय: सार्क मुलुकका पर्यटकहरू भारतीय सवारी लिएर भारतीय बाटो भएर आउँछन् । लुम्बिनी भ्रमण गरेर त्यही बाटो उसै दिन फर्किन्छन्,’ स्थानीय व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का उपाध्यक्ष मिथुन श्रेष्ठले भन्नुभयो।
लुम्बिनीसँगै आसपासमा बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान धेरै छन्। बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, कुदान, मावली देवदह, अष्टधातु रहेको रामग्राम बौद्ध दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छन् । ती बौद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण ‘प्याकेज’ छैन । यसले गर्दा अधिकांश पर्यटक एकैछिन लुम्बिनी घुमेर उसैदिन फर्केका हुन्। एसोसिएसन महासचिव लीलामणि शर्माले पर्यटन बोर्ड र लुम्बिनी गुरुयोजनाले पर्यटन विकासमा सहकार्य नगर्दा पनि समस्या परेको बताउनुभयो। सरकारले ४ वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको स्थान तिलौराकोट, मावली क्षेत्र देवदह र अष्टधातु रहेको नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर १ सय ५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र कायम गरेको कान्तिपुरले लेखेको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र जोड्ने सडक कम्तीमा ४ लेनको पक्की हुनुपर्ने र सडक आसपासमा वर, पीपल, स्वामीलगायतका रूखहरू रोपेर हरित, शान्त र सुन्दर बनाउनुपर्ने त्यसमा उल्लेख छ । फिल्डमा भने धेरै आयोजना सुरु भएका छैनन् । सुरु आयोजना पनि निकै सुस्त छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी सुन्दरीकरण, पूर्वाधार विकासको अभाव र आसपासमा मन बहलाउने ठाउँ नभएकै कारण पर्यटक नबसेको बताउनुहुन्छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यो लक्ष्यलाई सार्थक तुल्याउन सरकारले सन् २०१५ मा लुम्बिनीलाई टुरिजम हबका रूपमा विकास गर्न १० वर्षे कार्यक्रमसहितको व्यवस्थित पर्यटन योजना तयार गरेको थियो । एसियाली विकास बैंकको दक्षिण एसियाली पर्यटन पूर्वाधार परियोजनामार्फत योजना बनाइएको थियो ।

पर्यटन योजना कार्यान्वयनका लागि उत्पादन, पहुँच, खानेबस्ने ब्यवस्था, बजार, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकासतथा सम्पदा र वातावरणको संरक्षणका कामलाई कार्ययोजनागत रूपमा उल्ललेख गरिएको थियो । बनाइएको उक्त योजनासमेत कार्यान्वयनमा नल्याउँदा पर्यटन व्यवसाय फस्टाउन नसकेको पर्यटनविदहरूको भनाइ छ । लुम्बिनी आसपास साना/ठूला गरेर २ सय ५० होटल रहेका छन् ।