

डिसेम्बर १ तारिख दिउँसो शुरू भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) तथा विश्व राजनैतिक दलहरूबीचको उच्चस्तरिय वार्ता सम्मेलनमा विश्वका १२० वटा मुलुकका लगभग ३०० राजनैतिक दलहरू एवम् संगठनका नेतागणले पैचिङमा भेला भइ देशको शासन अनुभव बाँड्दै आपसी सहयोग तथा विकासबारे छलफल गरिरहनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो वार्ता सम्मेलनमा गर्नुभएको “हातमा हात मिलाउँदै अझ सुन्दर विश्वको निर्माण” विषयक सम्वोधनप्रति विभिन्न मुलुकका राजनैतिक दलका नेतागणले प्रतिक्रिया जनाउनुभएको छ।

कम्बोडिया जनपार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री साम्देच हुनसेनले राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको मानवजातिको साझा भाग्य समुदाय निर्माण तथा जनहित-कल्याण भन्ने लक्ष्य सम्बन्धी विचारको सक्रिय रूपमा समर्थन गर्दै जाने कुरा बताउनुभयो। सीले वार्तामा सहभागी राजनैतिक दलहरूको साझा मूल्यलाई स्पष्टसँग औंल्याउनुभएको ठहर पनि हुनसेनले गर्नुभयो।
यसैगरी अनुभवी शासक, अमेरिकी रिपब्लिक पार्टी राष्ट्रिय समितिका कोषाध्यक्ष अन्थोनी पार्करले फरक सामाजिक अवस्थाको प्रतिनिधित्व गरेका हामीबीच फरक मूल्य र विचारहरू भए तापनि हाम्रा साझा अपेक्षा रहेको बताउँदै शान्ति, सहयोग र समृद्धि भएको अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्नु र आपसी सहयोगको प्रवर्द्धन गर्नु नै एउटै मात्र उपाय रहेको विचार व्यक्त गर्नुभयो।

चेक तथा मोराभिया कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् तल्लो सदनका उपसभामुख भोइथेछ फिलिपले शान्तिको लक्ष्य तोकेको चिनियाँ कम्युनिष्ट पार्टीले चीन लगायत विश्वको शान्ति तथा स्थिरताको लागि प्रयास गर्दै आएको पुष्टी गर्नुभएको छ।
बेल्ट एण्ड रोड इनिसियसटिभ्स नै चीनले विश्वलाइ प्रदान गर्ने महत्वपूर्ण सार्वजनिक वस्तु हो। झिबुटी जनप्रगति संघका महासचिव इयास मौस्सा दावालेहले यसबाटै क्षेत्रीय र मुलुक-मुलुकबीचको सहयोग, जोड र सम्पर्क प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।
आगामी ५ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न मुलुकका १५ हजार पार्टी सदस्यको लागि चीनमा आदानप्रदान गर्ने मौका प्रदान गर्ने बताइएको छ। श्रृंखलावद्ध कदमहरूबाट वार्ता सम्मेलनलाई अझ व्यापक प्रतिनिधिमूलक र अझ प्रभावकारी पार्ने विश्वास पनि लिइएको छ।
