राष्ट्रपति भण्डारी आज चीन जाँदै

राष्ट्रपति भण्डारी आज चीन जाँदै

ram naam satya

राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि अाज बुधबार चीन प्रस्थान गर्दैछिन्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो। अघिल्ला राष्ट्रपति डा. रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन्। बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ।

अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आएलगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो। तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो। चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ।

राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन्। उनी एक दिन शान्षी प्रान्तमा बस्नेछिन्। त्यो राष्ट्रपति सी चिनफिङको सहर हो। भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन्। सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ।

नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ। तर अन्तिम रूप पाएको छैन। बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन्।

एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्। युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्। सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका महाप्रबन्धक पनि सहभागी हुनेछन्। यस्तै जर्मनी, फ्रान्स, स्पेन, बेलायत, जापान, दक्षिण कोरिया र ईयूबाट पनि उच्चस्तरीय प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलन सकिएको भोलिपल्ट आगामी आइतबार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ। दुई नेताबीच बीआरआई अभियानमा सहभागिता जनाएपछि दुई मुलुकबीच बढेको गतिविधि र पहिले भएका सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ। यस्तै चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणको प्राथमिकतामा राखेर कुराकानी हुनेछ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति भण्डारीको भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए। दुई देशका राष्ट्रपतिबीच चीनको विकाससँग नेपालको विकासलाई जोड्ने उपाय खोजी हुने उनले स्पष्ट पारे। दुई देशबीच पारवहन तथा परिवहनसम्बन्धी सम्झौता र हवाई रुट एवं स्लटसम्बन्धी सहमतिमा सम्झौता हुने मन्त्री ज्ञवालीले बताए। ज्ञवाली पनि राष्ट्रपतिसँग सवारीमन्त्रीका रूपमा चीन जानेछन्।

पारवहन प्रोटोकलमा हस्ताक्षर भएपछि चीनको जुनसुकै बाटो प्रयोग गरेर पनि चारवटा समुद्री बन्दरगाह र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा नेपालले पाउनेछ। त्यसले पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न सघाउ पुग्ने विश्वास सरकारको छ।

नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ आफूले यसअघि चीन भ्रमण गर्दा तय भइसकेको मन्त्री ज्ञवालीले बताए। यसपटक केरुङ–काठमाडौं रेल मार्गबारे सम्भाव्यता अध्ययन र निर्माण कार्य सुरु गर्ने निष्कर्षमा पुग्ने गरी छलफल हुनेछ। रेलमार्गबारे पूर्व सम्भाव्यता अध्ययन भइसकेको र यसको मूल्य महँगो आएकाले नेपालले यसमा अनुदान खोजिरहेको छ।

राष्ट्रपतिले बेइजिङमा हर्टिकल्चर एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ। उनले ६ महिनासम्म चल्ने एक्स्पोमा नेपालका स्टल अवलोकन गर्नेछिन्। यस्तै राष्ट्रपतिले नेपाली र चिनियाँ व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारी सम्मेलन सकिएपछि ल्हासा हुँदै स्वदेश फर्कनेछिन्। ‘ट्रान्स हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा पार रेल, सडक, बन्दरगाह, हवाई यातायात, सूचना प्रविधिलगायत विषयमा सहकार्य हुने ज्ञवालीले बताए। नेपालले प्राविधिक र वैज्ञानिक शिक्षामा केन्द्रित रहेको बहुआयामिक विश्वविद्यालयका लागि पनि चीनको साथ खोजिरहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

प्रधानमन्त्री भियतनाम र कम्बोडिया जाने

राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्केलगत्तै प्रधानमन्त्री केपी ओली कम्बोडिया र भियतनामको औपचारिक भ्रमणमा निस्कने भएका छन्। वैशाख अन्तिम साता प्रधानमन्त्री दुई मुलुकको भ्रमणमा जान लागेको परराष्ट्र अधिकारीले बताए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे गृहकार्य भइरहेको बताए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *