


राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ। उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताएको जानकारी दिनुभयो।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुगेकी राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु यिङच्येले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गर्नुभयो। उहाँले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरुले सिक्न सक्ने उल्लेख गर्नुभयो।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसियटिभ)मा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि बताउनुभयो। उहाँले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

नेपालखबर अनलाइनका अनुसार मे महिनादेखि तातोपानी नाका खोल्न सहमति भए पनि अन्य नाकाका विषयलाई पनि अगाडि बढाउनुपर्ने र हिमाली क्षेत्रका १५ जिल्लासँग मिली अन्तरसीमा आर्थिक विकास गर्न सके ठूलो फाइदा पुग्ने बताउनुभयो। मन्त्री ज्ञवालीले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा लिएको बताउँदै तिब्बती क्षेत्रबाट थप पर्यटक पठाइदिन आग्रहका साथ सचिव वुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो।

सचिव वुले दुई राष्ट्रपतिले व्यक्त गरेको मतैक्यतालाई तिब्बतले दृढताका साथ अगाडि बढाउने जानकारी दिँदै तिब्बत र नेपालबीच रेल सम्पर्क तथा पहाडी क्षेत्रका परियोजनाका विषयमा कार्य हुनेमा आश्वस्त हुन आग्रह गर्नुभयो। उहाँले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिने पनि उल्लेख गर्नुभयो।
उहाँले आफूले सन् २०११ मा नेपालको भ्रमण गरेको बताउँदै मन्त्री ज्ञवालीको निमन्त्रणा स्वीकार गरी समय मिलाएर पुनः नेपालको भ्रमण गरिने जानकारी दिनुभयो।
चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई सम्बोधन गर्नुभएको थियो।
