

गान्तोक, 23 अप्रेल। हिमाली राज्य सिक्किमले विकसित मुलुकहरूले गर्ने महिलाहरूलाई सर्भिकल क्यान्सर (पाठेघरको मुखमा हुने क्यान्सर) रोक्ने टिकाकरण सिक्किमले देशमा पहिलो राज्यको रूपमा शुरु गरेको हो भने आजदेखि दोस्रो चरणको टिकाकरण आरम्भ गरेको छ। ह्युमन पेपिलोमा भाइरस (एचपीभी) को टिकाकरण राज्यको मुख्य सचिव एके श्रीवास्तवको उपस्थितिमा तादोङ उच्चत्तर माध्यमिक विद्यालयमा दोस्रो चरणको टिकाकरण आरम्भ गरिएको छ। विश्वका विकसित मुलुकहरूले 9 वर्षदेखि 14 वर्षसम्मका किशोरीहरूको निम्ति सर्भाइकल क्यान्सर रोक्ने टिका लगाउने गर्छन् भने भारतमा राज्यभरिका किशोरीहरूलाई समेटेर गत वर्ष जुलाई देखि सिक्किम सरकारले एचपीभी टिकाकऱण शुरु गरेको हो। पहिलो चरणको टिकाकरणमा लगभग 25 हजार किशोरीलाई टिका लगाइएको थियो भने यसपाली उक्त किशोरी समेत छोडिएका र 9 वर्ष टेकेकी नयाँ किशोरीहरूलाई समेटेर आगामी 4 मईको दिनसम्म टिकाकरण गरिने छ। स्वास्थ्य विभागको सचिव विशाल चौहानले कार्यक्रममा दिएको जनकारी अनुसार पछिल्लो वर्ष 97 प्रतिशत किशोरीलाई टिका लगाउने प्रक्रिया पुरा गरिएको छ भने यसपाली सबैलाई समेट्ने लक्ष्य राखिएको छ।
सिक्किम बाहेक भारतको दुइवटा राज्य दिल्ली र पञ्जाबले पनि यो टिकाकरणको निम्ति आफ्ना केही जिल्लाहरूमा पाइलट योजना शुरु गरेको भए पनि सम्पूर्ण राज्यमा कार्यन्वयन गर्न सकिरहेको छैन्।

मुख्य सचिव एके श्रीवास्तवले राज्य सरकारले स्वास्थ्यको क्षेत्रमा गरिरहेको योगदानको चर्चा उठाउँदै अहिले क्याच र अन्य कार्यक्रम सरह यो एचपीभी टिकाकरण पनि उदाहरणीय कार्य हो भन्दै त्यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आह्वान गरे।

यो दोस्रो चरणको टिकाकरणमा प्राथमिकताको आधारमा पाठशालाहरूमा गरिने त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य एकाईहरूमा पनि टिकाकरण गरिने स्वास्थ्य विभागले बताएको छ। यस टिकाकरणले सर्भाइकल क्यासन्स रोक्न पूर्ण रूपमा सफल रहेको अनि यसमा विभिन्न प्रतिक्रियाहरू भए पनि पछिल्लोपल्टको टिकाकरण सफलतापूर्वक भएको र यसमा सबै अविभावकहरूले सहयोगसितै आइसीडीएस र स्वास्थ्य कर्मीहरूको सक्रियताले सफल भएको छ।


