

विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल यूएईविरुद्ध ५ विकेटले विजयी भएको छ। यूएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै पूरा गरेको नेपाल खबर अनलाइनले लेखेको छ।
चिसो मैदान भएका कारण खेल ढिलो गरि सुरु भएपछि २९ ओभरमा छोट्याइएको खेलमा नेपालका शरद भेषावकरले नटआउट ४१ तथा आरिफ सेखले २३ रनको पारी खेल्दै नेपालको जित सुनिश्चित गरेका थिए। यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले ४१ तथा कप्तान पारस खड्काले २८ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सवै विकेट गुमाएर १ सय ७१ रन बनाएको हो। यूएईका अस्फाक अहमदले ४२, अदनान मुफ्तीले ३७, घुलम सब्बरले ३२ तथा मोहम्मद उस्मानले २६ रन जोडे। बलिङमा नेपालका ललितसिंह भण्डारीले ४ तथा करणकेसीले ३ तथा ललितनारायण राजबंशीले २ विकेट लिए।
नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ। विश्वकप छनोटको लिगचरणका चार खेलपछि अंकतालिकामा शीर्ष तीनभित्र रहन सके नेपाल सुपर सिक्समा प्रवेश पाउनेछ। सुपरसिक्समा दुबै समूहका टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

