मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

ram naam satya

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनु भएको गोरखापत्र अनलाइनले लेखेको छ। केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो। यसअघि डा श्रेष्ठ र प्रा डा राकेश वर्माको टोलीले वीर अस्पतालमा ९९ मिर्गौला प्रत्यारोपण गरेको थियो। कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालन हुनुअघि वीर अस्पतालमा हाम्रै टोलीले ९९ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि यही टोलीले ४०४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, यो टोलीले अहिलेसम्म दुई अस्पतालमा गरेर ५०३ वटा मिर्गौला प्रत्यारोपण गरिसकेका छ।”

वीर अस्पतालमा चार वर्षमा ९९ मिर्गौला प्रत्यारोपण भएकामा भक्तपुरको केन्द्रमा चार वर्षमा ४०४ प्रत्यारोपण गर्न सफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “केन्द्रमा भएको प्रत्यारोपणमा मिर्गौला दातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता हासिल गरेका छौँ, यो विश्वकै उत्कृष्ट सफलता हो।”

केन्द्रले २०७४ वैशाखदेखि हालसम्म २५ हजार १०२ बिरामीलाई बहिरङ्ग सेवा, एक हजार ४४९ जना भर्ना, ५६४ जटिल तथा ८६२ सामान्य शल्यक्रिया, २५ हजार ३८६ को डायलोसिस गरेको छ भने १२८ जनाको मिर्गौला तथा एक जनाको कलेजो प्रत्यारोपण गरेको छ। केन्द्र स्थापनादेखि हालसम्म ६७ हजार ३२८ बिरामीलाई बहिरङ्ग सेवा, पाँच हजार ४८९ जना भर्ना, एक हजार ५८८ जनाको जटिल तथा दुई हजार ९४९ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख परामर्शदाता डा कल्पना श्रेष्ठले जानकारी दिनुभयो।

केन्द्रले एक लाख १२ हजार २६१ को डायलोसिस, दुई हजार ४२९ जनाको सिएपिडी, दुई जनाको कलेजो प्रत्यारोपण गर्नाका साथै दुई लाख ८७ हजार ५४० को प्रयोगशाला जाँच, नौ हजार १८० को युएसजी, एक हजार ६०७ को इको, तीन हजार ३१८ को इसिजी, एक हजार ४६४ को इन्डोस्कोपी र ११ हजार ४८१ लाई एक्स–रे सेवा प्रदान गरेको जानकारी दिनुभयो।

मिर्गौला प्रत्यारोपणबाहेक युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत विभिन्न पत्थरीको शल्यक्रियासमेत सेवा शुरु गरिएपछि बिरामीको चाप निकै बढेको प्रा डा राकेश वर्माले जानकारी दिनुभयो। श्यया र भवनको अभावका कारण बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने समस्या आएको छ।

डा श्रेष्ठले मिर्गौैला प्रत्यारोपणका लागि अहिले ४०० बिरामीले पालो कुरेर पर्खिरहेको र त्यसभन्दा बढी डायलोसिसका बिरामीले पालो पर्खेर बसेको बताउनुभयो। सरकारले निःशुल्क डायलोसिस सेवा दिएपछि कतिपय बिरामीले मिर्गौला प्रत्यारोपण नगरी डायलोसिस गरेर मात्रै बसेकाले पनि डायलोसिसमा थप समस्या आएको बताइएको छ।

डा श्रेष्ठले भन्नुभयो, “दैनिक १० जनाबाट शुरु भएको डायलोसिस अहिले दैनिक १५० जनासम्म पुग्ने गरेको छ, ३५ वटा मेशिनले काम गरेका छौँ, १२ मेशिन बिग्रिएको छ, ठाउँ अभावले श्यया र मेशिन थप्न नपाउँदा कैयौँ बिरामी बेटिङमा बस्नुपरेको छ।” छ वर्षदेखि मिर्गौला प्रत्यारोपण नगरी पुराना बिरामीले डायलोसिस मात्रै गर्दा नयाँ बिरामीलाई डायलोसिसलाई ठाउँ पाउन गाह्रो भएको उहाँको भनाइ थियो। प्रा डा वर्माले केन्द्रमा अहिले सातामा कम्तीमा तीनदेखि आठ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको बताउँदै ठाउँ र श्यया भए दैनिक प्रत्यारोपण गर्न सकिने स्पष्ट गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *