माथिल्लो तामाकोसोमा पेनस्टक पाइप जडान वैशाखभित्रै

ram naam satya

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान यसै महिनाभित्रै सुरु हुने बताइएको छ। तल्लो र माथिल्लो दुवै सुरुङको पुछारमा राखिने बेन्ड पेनस्टक पाइप जडान सकिएपछि तल्लो सुरुङमा वैशाख २२ भित्र र माथिल्लोमा मसान्तभित्र उक्त पाइप राख्ने कार्य सुरु गर्ने अपर तामाकोसी जलविद्युत् कम्पनीले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ। तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौलका पेनस्टक पाइप जडान गर्नुपर्नेछ।

माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपहरू जडान भइसकेका छन्। अब ती बेन्ड पाइपभन्दा माथि पाइप जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी सबै कार्यहरू निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको नेपाल आयोजनाले जनाएको छ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य थियो। भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालु आव २०७५/७६ को पुसभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो तर लट २ को ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ भित्र युनिट १ (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपियाँ (निर्माण अवधिको ब्याजबाहेक) पुग्ने संशोधित अनुमान छ। निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोड रुपियाँसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपियाँ पुग्ने संशोधित अनुमान छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *