

विज्ञको समूहले पोखरी वरिपरि मल्लकालमा लगाइएको पर्खालको अवस्था र निर्माण शैली पनि पत्ता लगाएको र सोही विधिबाट पोखरीको जीर्णोद्धार सम्भव भएको प्रतिवेदन तयार गरिरहेको समितिका सदस्य स्ट्रक्चर इन्जिनियर सूर्यभक्त साँगाछेले जानकारी दिनुभयो। नौ जना विज्ञ सदस्यको समूहले पोखरीलाई जीर्णोद्धार गर्दा त्यहाँ भएका ऐतिहासिक इनारबारे पनि खोजी गर्दा उपयुक्त हुने सुझाव दिएको थियो।
काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर विज्ञ समूहलाई अध्ययन गर्न लगाएको थियो। समितिले आगामी सोमबार सम्ममा हाल सम्मको अध्ययनबाट प्राप्त भएका तथ्यको प्रतिवेदन बनाएर महानगरपालिकालाई बुझाउने तयारी गरेको छ।

विज्ञको अन्तिम प्रतिवेदन आएपछि गलत प्रक्रियाबाट निर्माण भएको कङ्क्रिटको पर्खाल भत्काइने महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले बताउनुभयो। कङ्क्रिटको पर्खाल निर्माणका लागि हालसम्म लाखौँ रुपियाँ खर्च भइसकेको छ। समयमा नै सही तरिका नअपनाउँदा यसरी लाखौँ रुपियाँ नोक्सानी बेहोर्नुपरेको उपप्रमुख खड्कीको भनाइ छ।
