मर्स्याङ्दीका १३ गाउँमा होमस्टे

ram naam satya
(GMT+08:00) 2017-12-11 16:23:51

        लमजुङको उत्तरी क्षेत्रमा पर्ने मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रका १३ गाउँमा होमस्टे प्रबर्द्धनका कार्यक्रम गर्ने भएको छ। साविकका सात गाविसलाई नौ वडामा विभाजन गरी बनाइएको मर्स्याङ्दी गाउँपालिकामा एउटाबाहेक सबै वडाका कम्तीमा एउटा र बढीमा तीनवटा गाउँमा होमस्टे सञ्चालन गर्ने गरी कार्यायोजना अघि बढाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिएको गोरखापत्रअनलाईनले लेखेको छ।

उहाँका अनुसार मर्स्याङ्दी एक, घनपोखरा, तीनको सिउरुङ र ढगैं, चारको कालाघिरिङ, छापा र मिप्रा, पाँचको सञ्जापु र खानीगाउँ, छ को भीरपुस्तुन, सातको उस्ता र नयाँगाउँ, आठको भुस्मे र नौ को भलामचौरमा होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ। यीमध्ये घनपोखरा, सिउरुङ, ढगैं, छापा, मिप्रा र भुस्मेमा होमस्टे कार्यान्वयनमा आइसकेको छ। यी गाउँमा करिब ८० घरमा होमस्टे सञ्चालनमा छ। अन्य गाउँमा सुरुवाती समयमा तत्काल एक सय घरमा होमस्टे सञ्चालन गर्नसकिने गाउँपालिकाले जनाएको छ।

होमस्टे सञ्चालन गरिएका गाउँले वार्षिक रूपमा पर्यटन प्रबर्द्धनका कार्यक्रम पनि गर्दै आएका छन्। जिल्लाकै सबैभन्दा उचाइमा रहेको गाउँ घनपोखरावासीले पर्यटन प्रबर्द्धनका कार्यक्रम गर्दै आए पनि उक्त गाउँ ओझेलमा छ। गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार होमस्टे सञ्चालन गर्न रुचाउने नयाँलाई सुरुमा तालिम दिइने र त्यसपछि भौतिक सामग्री जुटाउनका लागि आवश्यक सहयोग गरिनेछ। सञ्चालनमा रहेका होमस्टेका लागि भने आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिनेछ। सुरुआती चरणको कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको विकले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *