मनकामनाको छानामा १८ किलो सुनको जलप

ram naam satya
 १२ बैशाखको भूकम्प लगत्तै क्षमापूजा गरी पुरानो मन्दिर जगैदेखि भत्काएर पुनर्निर्माण आरम्भ भएको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्वार कार्य अन्तिम चरणमा पुगेको छ। मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य सम्पन्न भएपछि भक्तजनका लागि मन्दिर खुल्ला गरिने नेपाल खबर अनलाइनले लेखेको छ। अहिले मन्दिर छेउको टहरोबाट पूजाआजा हुँदै आएको छ।

       मनकामना मन्दिर जीर्णोद्वार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व बिभागको मापदण्ड अनुसार नै धेरै बर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य सुरु गरेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, ‘एक तोला सुनले तीन स्वायरफिट तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व बिभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ।’

पाटनका १२ जना कालीगढले तामाको पातामा सुनको जलप लगाउने कार्यलाई अघि बढाएका छन्। श्रेष्ठका अनुसार, समितिले साँढे सात किलोग्राम सुन खरिद गरिसकेको छ। जलप दीर्घकालीन रुपमा टिकाइ राख्ने हो भने कम्तिमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ। तामाको पातामा लगाएको सुनको जलप कम्तिमा एक सय बर्ष सुनौलो रहन्छ। पानीले नबिगार्ने उक्त जलप परेवाको बिष्टाले भने बिगार्न सक्ने कालीगढ ज्ञानेन्द्र शाह बताउनुहुन्छ।

२४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा दलिन्छ। त्यसपछि सुनको जलप लगाएको तामाको पातामा ग्यासले ताप दिएपछि तामाको पाता पहेंलो हुन्छ। अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकिएको समितिले बताएको छ। सुन र सुनको जलप लगाएका पाता सुरक्षित तवरले भण्डारण गरिएको छ। मन्दिरको छानो चार हजार स्वायरफिट छ। मनकामना मन्दिरलाई आवश्यक पर्ने तामाको पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका थिए।

मन्दिर पुनर्निर्माण गर्दा अहिलेसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ। मन्दिर जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार, मन्दिर पुनर्निर्माणमा चाहिने एक लाख पच्चीस हजार गोटा इट्टा काठमाडौंका हिराकाजी महर्जनले निःशुल्क उपलब्ध गराएका छन्।

टिम्वर कर्पोरेशनबाट समयमै काठ उपलब्ध नगराउँदा र तीन तहको निर्वाचनले गर्दा मन्दिर पुनर्निर्माणको काम केही ढिलाइ भएको हो। तामाको पातामा सुनको जलप लगाउने कार्य सकेर गजुर प्रतिस्थापन गरेपछि मन्दिर पुनर्निर्माण कार्यले पूर्णता पाउनेछ। पुनर्निर्माण कार्य आउँदो साउनभित्र मन्दिर सक्ने लक्ष्य राखिएको छ।

मन्दिर पुनर्निर्माण गर्न सरकारले आ.ब. ०६७/०६८ मा दिएको एक करोड रुपैयाँमध्ये ५६ लाख रुपैयाँले सुन खरिद गरेको समितिले ४४ लाख रुपैयाँको काठ किनेको थियो। यस्तै आ.ब. ०६९/०७० मा सरकारबाट प्राप्त भएको तीन करोड रुपैयाँले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठ बताउनुहुन्छ।

श्रेष्ठले थप्नुभयो, ‘सरकारले हामीलाई जिन्सी सहयोग गरेको हो। नगद हामीले भक्तजनबाट पनि संकलन गरेका छौं। भक्तजनबाट अहिलेसम्म करिब छ करोड रुपैयाँ संकलन भएको छ।’

यसैबीच गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, सहायक प्रजिअ केशवराज शर्मा, प्रहरी उपरीक्षक प्रकाश अधिकारी, सशस्त्रका प्रहरी नायव उपरीक्षक सुवास भण्डारी, राष्ट्रिय अनुसन्धानकी गोरखा प्रमुख रजनी घिमिरेलगायत सुरक्षा प्रमुखको टोलीले आइतबार मन्दिर जीर्णोद्वारको अवस्था बारे जानकारी लिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *