मध्यमोदी जलविद्युत आयोजनाको आधा काम सम्पन्न

ram naam satya
(GMT+08:00) 2017-12-09 14:18:39

मोदीखोलामा निर्माणाधीन १५.१ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजनाको करिब ५० प्रतिशत काम सकिएको छ। चौधरी ग्रुपको लगानीमा निर्माणाधीन उक्त आयोजनाको टनेल, बाँध, पावरहाउसलगायत निर्माणको काम चलिरहेको छ। टनेलको काम ६० प्रतिशत सकिएको छ। समग्र प्राविधिक र भौतिक निर्माणतर्फको प्रगति ५० प्रतिशत हाराहारी पुगेको निर्माणपक्षले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

२ अर्ब ८० करोड लागत रहेको आयोजनाले चालु महिनामै विद्युत् उत्पादन थाल्ने लक्ष्यसहित निर्माण थालेको थियो। निर्धारित समयमा उत्पादन थाल्न नसके पनि निर्माणमा तीव्रता दिइएको आयोजनाले जनाएको छ। ‘सुरुमा विभिन्न व्यवधानले लक्ष्यअनुरूप काम अघि बढ्न सकेन,’ आयोजना प्रमुख सुदर्शन शेरचनले भन्नुभयो, ‘अहिले भने काम धमाधम छ। यही अनुपातमा गए एक वर्षभित्र उत्पादन दिन सकिन्छ।’ उत्पादन समय लम्बिएसँगै आयोजनाको वित्तीय खर्च पनि बढ्ने उहाँले बताउनुभयो।

२०७२ वैशाखको भूकम्प र लामो समयको नाकाबन्दी, चालु वर्ष परेका दुई निर्वाचनलगायतका कारण निर्माणमा ढिलाइले आयोजनाको उत्पादन लागत र समय केही बढ्ने देखिएको हो। शुक्रबारसम्म १७ सय ३० मिटर टनेल खनेर सकिएको नयाँपुलस्थित आयोजना कार्यालयले जनाएको छ। आयोजनाका कर्मचारी कृष्ण रिमालले भन्नुभयो, ‘एक सातामा पावरहाउसको जगलगायतका संरचनाको काम सकिन्छ।’

चौधरी ग्रुपसँग मिलेर आयोजनाको ५० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनीले लगानीमा चासो नदेखाउँदा आयोजना सुरु हुन प्रारम्भिक चरणमै चार महिना ढिलो भएको थियो।

अहिले द्रुत गतिमा काम देखिए पनि लागत र समय अपेक्षित रूपमा बढ्ने अनुमान आयोजना पक्षको छ। कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोले गत वर्षदेखि सबकन्ट्रयाक्टमा केही भागको काम फेवा कन्स्ट्रक्सनलाई जिम्मा लगाएको थियो। अहिले टनेल, बाँध र पावरहाउस निर्माणको काम धमाधम अघि बढिरहेको आयोजनाका इन्जिनियर सञ्जीव कार्कीले बताउनुभयो। ‘बाँध निर्माणकार्य र ट्रान्समिसन लाइन पनि छिटै सुरु गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिकतर्फको काम कुनै समय पनि रोकिएको छैन। अब पनि रोकिन्न।’ उत्पादित विद्युत् देउपुरको केरुङमा जोड्ने गरी दुईवटा टावर निर्माणको प्राविधिकतर्फको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो। आयोजनासम्म सामान ढुवानी गर्न मोदीखोलामा पुल, आयोजनाको आफ्नै क्रसर उद्योग सञ्चालन भइसकेका छन्। बाँध र पावरहाउसको जिम्मा लिएको फेवा कन्स्ट्रक्सनले २० मेगावाटको तल्लो मोदीखोलाको काम अन्तिम चरणमा पुर्‍याएकाले त्यसपछि सबै जनशक्ति मध्यमोदीमा परिचालन गर्ने जनाएको छ।

आयोजनाले कास्कीको वीरेठाँटी र पर्वतको मोदी–१ भुकताङ्लेको सीमामा पर्ने सिमखेतमा बाँध निर्माण गर्नेछ। त्यहाँबाट मोदी–२ देउपुरको बेतेनीसम्म २८ सय मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलाको किनारबाट विद्युत् निकाल्ने योजना छ। यो आयोजना निर्माणपछि पर्वतको मोदी गाउँपालिकाका भुक, देउपुर, क्याङ, देउराली र बाजुङलगायतका करिब एक दर्जन गाउँ प्रत्यक्ष लाभान्वित हुनेछन्। प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई विद्युत् र रोजगारीमा समेत प्राथमिकता दिइएको आयोजना पक्षले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *