मतदान केन्द्रमा सबै कर्मचारी महिला

ram naam satya
(GMT+08:00) 2017-12-07 17:27:59

नेपालमा आज भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन्। निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन्। त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन्। (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिनुभयो।

क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ। झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *