भैँसी अनुसन्धान सर्वोच्च केन्द्र स्थापना गर्ने निष्कर्षसहित सम्मेलन सम्पन्न

ram naam satya
(GMT+08:00) 2017-11-19 14:04:12

‘भैँसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ। कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र’ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ।

यस्तै अन्तर्राष्ट्रिय भैँसी विज्ञ सम्मेलनको आयोजक राष्ट्रको हैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो काँग्रेस’ आयोजना गर्ने प्रस्ताव गर्ने भएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिनुभयो।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजना तथा नेपाल सरकारको पशुसेवा विभाग, नार्क तथा मिचिगन स्टेट अफ युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन भएको हो। सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब २०० विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *