

ऐतिहासिक एवं पर्यटकीय राइनासकोटमा भूकम्पले भत्काएका घरलाई पुनर्निर्माण गरी होमस्टे सञ्चालनमा ल्याइएको छ। यस गाउँका १६ घरमध्ये पुनर्निर्माणपछि १५ वटामा होमस्टे सुरु गरिएका छन्।
राइनास नगरपालिकाको राइनासकोटमा होमस्टे प्रयोजनकै लागि एउटा सामुदायिक घर पनि निर्माण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पले गाउँका सबै घरमा क्षति पुर्याएपछि स्थानीय आफैं पुनर्निर्माणमा जुटेका थिए। भत्किएका घरमा होमस्टे चलाउन दुइ वर्षयता नमुना गाउँ निर्माण अभियान थालिएको थियो।

सबै घरको पूर्ननिर्माण सकिएसँगै होमस्टे सञ्चालनमा ल्याइएको हो।

पुनर्निर्माण अभियानअन्तर्गत खरले छाएको एउटा घुमाउने घरलाई जीर्णोद्धार गरी संग्रहालय स्थापना गरिएको छ। पुनर्निर्माणका लागि अमेरिकी नागरिक नतासा वजनियाकले सहयोग गरेकी छन्। उनले अमेरिकामा स्थापित ‘सँगसँगै’ नामक गैरसरकारी संस्थामार्फत राइनासकोटको पुनर्निर्माणका लागि सहयोग जुटाएकी थिइन्। स्थानीय आफैंले ९० लाख जुटाएका थिए ।

एक घर बराबर श्रमदानसहित ६ लाख रुपैयाँ घरधनीले व्यहोरेका छन्।
पण्डितका अनुसार भूकम्प प्रतिरोधात्मक क्षमताका सबै घर सुविधा सम्पन्न तर पौराणिक शैलीको मौलिकता झल्कने बनेका छन्। सबै घर एउटै डिजाइनका छन्।हरेक घरमा ५ कोठा छन्। स्थानीयको कला, संस्कार तथा संस्कृति जोगाउन खरले छाएको घुमाउने घरमा संग्रहालय स्थापना गरिएको कान्तिपुरमा खबर छ।