

गान्तोक, 20 अप्रेल। सिक्किम प्राकृतिक रूपमा सुन्दर रहेको हुँदा हुँदै कतिपय ठाउँहरूमा प्रकृतिले दिएको मनोहारीतामा थप आकर्षणको रूपमा मानव निर्मित पूर्वाधारले पनि टेवा पुऱ्याउने गरेको छ।
यसैक्रममा भारत-नेपाल सीमामा पर्ने पश्चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा पर्ने देन्ताम, उत्तरे गाउँहरू अहिले पर्यटनको नयाँ गन्तव्यको रूपमा विकास भइरहेको छ। अन्तरराष्ट्रिय सीमासित जोडिएको उत्तरे गाउँ पुग्न अघि एशियाकै दोस्रो उच्च पुल सिन्सोर ब्रिज पर्यटकहरूको निम्ति रोमाञ्चक र आकर्षक ठाउँको रूपमा परिचित बन्दै छ।

भारत-नेपाल सीमामा पर्ने यो क्षेत्रमा रहेको सिन्सोर ब्रिज 198 मिटरको लम्बाई र लगभग 7 सय मिटरको उच्चाईमा स्थित आकर्षक अनि रोमाञ्चक मानव निर्मित पूर्वाधार हो जसले देन्ताम र उत्तरेलाई जोड्ने काम मात्र नगरेर पर्यटकहरूको निम्ति आकर्षणको केन्द्र पनि बन्ने मौका पाएको छ।

यसो त क्षेत्रमा नेपालको सीमामा स्थित चिवा भञ्जाङसम्मको उत्तरेदेखिको 8 किलोमिटरको ट्रेकिङ निक्कै चर्चामा रहेको छ भने त्यहाँबाट फोक्टे डाँडा र कालिझार हिमाली क्षेत्र सूर्योदयको निम्ति विदेशी र देशी पर्यटकहरूको निम्ति चासोको गन्तव्य पनि हो। यी पर्यटकीय सम्भावनाहरू बीच उत्तरे गाउँमा अहिले गृहबास पर्यटनको पनि उत्तिकै विकास भइरहेको छ जसले गर्दा स्थानीय युवाहरूमा रोजगारको अवसर पनि सिर्जना गरेको छ।

यसैगरि उत्तर नजिक सिक्किम सरकारद्वारा निर्मित तेञ्जिङ हिलेरी पार्क अहिले पर्वतारोही र सहासीक पर्यटनलाई माया गर्ने पर्यटकहरूको निम्ति तिर्थ बन्न लागेको छ। प्रथम सगरमाथा आरोही तेञ्जीङ शेर्पा र एडमण्ड हिलेरीको विशालकाय पूर्ण कदको प्रतिमा हेर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुन थालेको छ। समग्रमा हेर्दा उत्तरे पश्चिम सिक्किमको चर्चित पेलिङ र योकसम पछि पर्यटनको बलियो सम्भावना बोकेर अघि आएको गाउँको रूपमा विकास हुँदैछ। यसैगरि पूर्वी नेपालसित जोडिने चिवा भञ्याङसम्मको सडक सम्पर्क निर्माण अन्तिम चरणमा रहेको छ भने भर्खरै निर्माण गरिएको शिव पञ्चायन मन्दिरले पनि पर्यटकहरूलाई आकर्षण गर्ने अर्को माध्यम बन्ने निश्चित छ।

