

गन्तोक, 1 मई। हिमाली राज्य सिक्किमको राजधानी गान्तोकदेखि केवल 56.3 किलोमिटरको दुरीमा रहेको दक्षिण एशियाको ठूलो राष्ट्र चीनसित जोडिएको नाथुला भञ्जाङको सीमा व्यापार बुधबारदेखि आधिकारीक रूपमा आरम्भ भएको छ।

14 हजार 140 फिटको उच्चाईमा रहेको हिउँले ढाकिरहने हिमाली नाका नाथुलामा रहेको भारत र चीनको सीमानाको फलामे ढोका पाँच महिना पछि पुनः खोलिएपछि दुवै तिरका अधिकारीहरूको उपस्थितिमा 14औं पटकको सीमा व्यापार आधिकारीक रूपमा आरम्भ भएको छ। दुवै राष्ट्रका प्रतिनिधि तथा सरकारी अधिकारीहरूले परम्परागत खादा लगाएर एकअर्कालाई उपहार आदान प्रदान गरेर वर्ष 2019 को नोभेम्बर महिनासम्मको निम्ति चल्ने सीमा व्यापार विधिवत शुरु भएको घोषणा गरे।

यस अवसरमा सिक्किम सरकारको उद्योग तथा वाणिज्य विभागका प्रधान सचिव डॉ. थोमस चाण्डीको विशेष उपस्थिति रहेको थियो भने राज्यको अन्य विभागीय अधिकारी तथा केन्द्रीय एजेन्सीका प्रतिनिधिहरूको उपस्थिति थियो। वर्ष 2006 सालमा 1962 को भारत चीन युद्धपछि बन्द भएको नाथुला भञ्जाङको सीमा व्यापार पुनः सञ्चालनमा आएको हो। यद्यपी 2017 साल भारत चीन सीमा विवाद डोकलामको झमेलाले गर्दा व्यापार चलेन। हप्तामा चार दिन सोमबारदेखि विहिबारसम्म चल्ने यो व्यापारमा अहिलेसम्म सिक्किमे खाँटी रैथानेहरूले मात्र व्यापार गर्ने अनुमति पाएको छन्।

पछिल्लो वर्ष सिक्किमे व्यापारीले 45.03 करोड रूपियाँ बराबरको सामान निर्यात गरेको थियो भने चिनियाँ व्यापारीबाट 3.23 करोड़ रूपियाँको सामान आयत गरेको थियो। सिक्किमे व्यापारीहरूले निर्यात गरेको सामानमा मुख्य रूपमा पीठो, वनस्पति घिउ, बिस्कुट, भाँडा-वर्तन, तामाको सामान लगायत विभिन्न 36 प्रकारको सामान चीन लाने र बिक्रि गर्ने गर्दछन्। अर्कोतिर आयत गर्ने समानमा भने रेडिमेड गार्मेन्ट, कार्पेट, बल्याङकेट, जुत्ता, चिनियाँ माटोको भाँडा कुडा, चौरीको पुच्छर लगायत 20 प्रकार सामानहरू पनि आयत गर्ने गरेको छ।

यद्यपी दुबै पट्टिका व्यापारीहरूले प्रत्येक वर्ष आयत निर्यात सामान सूचीमा भने संसोधन गरेर माग र समय सापेक्ष हुनपर्छ भन्ने माग गर्दै आएको छ। तर दुवै राष्ट्रको परराष्ट्र मन्त्रालयसित सम्बन्धित भएको हुनाले एकातिरको राष्ट्रले मात्र निर्णय गर्न सक्ने स्थिति नरहेको हुँदा पछिल्लो केही वर्ष यता माग लगातार उठीरहेको भए पनि सम्बोधन भने हुन सकेको छैन।

