

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन्। बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो। युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएको उहाँको चिन्ता छ। झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ।
मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ।

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताउनुभयो। उहाँले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गर्नुभयो। राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताउनुभयो। मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ।
