

(GMT+08:00) 2017-11-29 16:40:33
कोलकतास्थित भारतीय बन्दरगाहमा दुई हप्ताअघिदेखि ‘कन्जेसन’ (जाम)मा परेका करिब १५ सय कन्टेनर धमाधम नेपालतर्फ आउन थालेका छन्। तेस्रो मुलुकबाट आयातित मालसमानका ती कन्टेनर नेपाल हिँडेपछि समस्या हट्न थालेको बताइएको छ। आइतबारसम्म त्यहाँ तीन सय ५४ मात्र कन्टेनर हिँड्न बाँकी रहेको तथ्यांक पाएपछि नेपाली आयातकर्ताले राहतको सास फेरेका छन्।आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले पूर्ण रूपमा समस्या समाधान भइनसकेको बताउँदै अहिले देखिएको समस्या र फेरि पनि यो दोहोरिनसक्ने बताउनुभयो। विदेशबाट कोलकाता ल्याएपछि चलान भएर कोलकातामै अड्किएका कन्टेनरको संख्या कात्तिकको अन्तिम सातासम्म एक हजार नाघेको थियो भने बन्दरगाह आइपुगेका पाँच सयभन्दा बढी कन्टेनर अझ चलान हुने पर्खाइमा थिए। समस्या महिनौं लम्बिन सक्ने ठानेर आयातकर्ता डराएका थिए। दुई हप्तापछि अवस्था फेरिँदा उनीहरुले राहत महसुस गरेका हुन्।
नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकातामा अड्किने समस्या गत एक दशकदेखि बारम्बार दोहोरिरहने गरेको छ। यसबाट नेपालको तेस्रो मुलुकसँगको समग्र व्यापार नै प्रभावित हुनुका साथै बर्सेनि अर्बौं रुपैयाँ नेपाललाई आर्थिक नोक्सानी पनि हुने गरेको छ। कन्टेनर खाली गरेर सिपिङ कम्पनीलाई कोलकाता पुगेदेखिको १४ दिनभित्र नफर्काइए दैनिक ६० देखि ८० अमेरिकी डलरसम्म जरिवाना पर्ने गरेको नागरिकन्यूज डटकमले लेखेको छ।